राजनीति

वागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार, काे काे थपिए ?

हेटौंडा, हेटाैँडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री र नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

त्यस्तै एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् । त्यस्तै इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी छन् । नवनियुक्त मन्त्रीहरुले मंगलबार नै अपरान्ह ५ बजे पद तथा गोपनीयताको शपथ लिनेछन् ।

मंगलबार मन्त्रिपरिषद विस्तार गर्दा नेपाली कांग्रेसका सांसदहरु भने समेटिएका छैनन् । कांग्रेस सांसदहरु पार्टीको महाधिवेशनमा व्यस्त भएकाले मन्त्रीको नाम टुंग्याउन नसकेको नेताहरुले बताएका छन् ।

हाल वागमती मन्त्रिपरिषद ५ सदस्यीय छ र मंगलबार ६ जना थप भएका छन् । वागमती प्रदेशमा मन्त्रालयको संख्या ८ बाट बढाएर १४ पुर्‍याइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत