राजनीति

कांग्रेस केन्द्रिय सदस्यमा रामेछापबाट तीन जनाकाे उम्मेद्वारी

काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा रामेछापबाट तीन जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका तीन जनाले आज केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

रामेछापबाट संविधासभाका सदस्यसमेत रहेका कांग्रेस नेता आङटावा शेर्पा (जनजाति तर्फ), नेविसंघका पूर्व उपसभापति एवं गत प्रदेशसभा निर्वाचनमा रामेछाप ‘क’ का प्रत्यासी रत्न कार्की (खस आर्य पुरुषतर्फ) र विनिता खड्काले (खस आर्य महिलातर्फ) बाट उम्मेदवारी दिएका छन् ।

शेर्पा दोस्रो संविधानसभाको निर्वाचनमा रामेछाप क्षेत्र नं १ बाट सांसद निर्वाचित भएका थिए भने पटक–पटक गरेर तीन पटक जिल्ला सभापति हुने मौका पाएका थिए ।

अर्का उम्मेदवार कार्कीले२०५६ सालमा नेविसंघकै जिल्ला अध्यक्ष, नेविसंघको केन्द्रीय प्रचार विभागको प्रमुख, केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुँदै २०७४ सालको प्रदेशसभा चुनावमा ‘क’ का प्रत्यासीसमेत हुन् । 

अघिल्लो महाधिवेशनमासमेत देशकै कान्छी महाधिवेशन प्रतिनिधिका रूपमा १९ वर्षको उमेरमा सहभागी उनले १४औं महाधिवेशनका लागि जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा अत्यधिक मतले विजयी भएकी थिइन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा उनी सम्भवतः सबैभन्दा कान्छी उम्मेदवार हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी रामेछापको सुनापति गाउँपालिकाबाट उपाध्यक्ष उम्मेदवार बनी दोस्रो स्थानमा आएकी थिइन् ।

कांग्रेसको १३४ जना केन्द्रीय सदस्यको लागि आज ५४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको महाधिवेशनमा रामेछापबाट २७ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका छन् ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत