गाउँ सहर

अब कक्षा १२ काे प्रमाणपत्र विद्यालयबाटै लिन सकिने

काठमाडाैं । कक्षा १२ पास भएका विद्यार्थीहरूले प्रमाणपत्र सम्बन्धित विद्यालयबाटै लिन सक्ने भएका छन् । कोरोना महामारी बढेको र बोर्डमा भिडभाड हुने भएकोले यसपालि विद्यालयहरूमै प्रमाण पत्र पठाइने र त्यहीबाट विद्यार्थीले लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जानकारी दिएकाे छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डमा पुगेर प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो ।

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो ।

सम्बन्धित विद्यालयले आवश्यक दस्तुर र कागजपत्र संकलन गरेर बोर्डमा पठाएपछि प्रमाणपत्र स्कुलमै पठाउने व्यवस्था मिलाइने निर्णय भएको छ ।

अब विद्यार्थीले बोर्ड पुगेर निवेदन र दस्तुर बुझाउनुपर्दैन सम्बन्धित विद्यालयमै बुझाए हुने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको परीक्षामा ३ लाख ८५ हजार विद्यार्थीले परीक्षा लिएका थिए । मंसिर १७ मा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको थियो ।

जसमध्ये सात हजार ३६ जनाले 'ए प्लस' ग्रेड ल्याएका छन् भने 'ए ग्रेड' ल्याउने परीक्षार्थीको संख्या ४८ हजार तीन सय ३९ जना छ ।

'बी प्लस' ग्रेड ल्याउने विद्यार्थी ७० हजार हाराहारीमा रहेको बोर्डले जनाएको छ ।

करिब एक लाख विद्यार्थीले 'बी' ग्रेड मात्रै ल्याएका छन् भने सि र डी ग्रेड ल्याउने विद्यार्थी पनि छन् ।

साथै दश हजार हाराहारी विद्यार्थीले 'ई' ग्रेड  ल्याएकाे बोर्डले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत