विश्व

ओमिक्रोन भेरिअन्ट : सङ्क्रमण भएको छ कि छैन कसरी थाहा पाउने, कति जोखिमपूर्ण ?

काठमाडाैं । नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

सोमवार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह-प्रवक्ता समीरकुमार अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट भेटिएको जानकारी दिए ।

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको उनले बताए। उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो ।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ ।

ओमिक्रोन सङ्क्रमण भएको छ कि छैन कसरी थाहा पाउने ?

 

सामान्यतया पीसीआर परीक्षणका लागि लिइएको नाक तथा घाँटीको स्वाब विश्लेषणका लागि प्रयोगशाला पठाइन्छ। पीसीआर विधिले मानिसमा कोरोनाभाइरस सङ्क्रमण छ कि छैन भनेर हेर्छ ।

प्रयोगशालाअनुसार केहीले कोरोनाभाइरसको निश्चित भेरिअन्ट - जस्तै, डेल्टा वा ओमिक्रोन - पनि किटान गर्न सक्छन् ।

केही प्रयोगशालामा मात्र भेरिअन्ट पहिचान गर्न आवश्यक प्रविधि हुन्छ ।

संयुक्त राज्य अमेरिका विश्वमा पीसीआर परीक्षण गरिने सङ्ख्यामा अग्रपङ्क्तिमा आउँछ। त्यसपछि यूके, रुस, जर्मनी, इटाली र दक्षिण कोरियामा धेरै मात्रामा पीसीआर परीक्षण हुन्छ ।

भारतको हकमा परीक्षणको लागि पठाइएको कुल नमुनाको एक प्रतिशत मात्र डेल्टा वा ओमिक्रोनजस्ता भेरिअन्ट किटान गर्न प्रयोग हुन्छ ।

के हुन् ओमिक्रोनबाट सङ्क्रमण हुँदाका लक्षणहरू ?

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमण हुँदा देखिने लक्षणहरू अन्य भेरिअन्टको सन्दर्भमा भन्दा फरक नभएको जानकारी उपलब्ध नभएको जनाएको छ ।

यद्यपि खोकी र ज्वरो आउनु तथा स्वाद र गन्ध हराउनु यो भेरिअन्टसँग सम्बन्धित लक्षण हुन सक्छन् ।

दक्षिण अफ्रिकामा पूर्ण खोप लगाएका मानिसमा पनि ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ। उनीहरूमा देखिएका लक्षणहरू सामान्य छन् ।

दक्षिण अफ्रिकाका अस्पतालहरूमा जटिल लक्षणसहित धेरै वयस्क व्यक्तिहरू भर्ना भएका छन्। तीमध्ये अधिकांश खोप नलगाएका वा खोपको एक मात्रा मात्र लगाएका मानिस छन् । 

यसले के सङ्केत गर्छ भने पूर्ण मात्रामा खोप लगाउनु र अतिरिक्त 'बूस्टर' मात्रा लगाउँदा नयाँ वा उस्तै भेरिअन्टहरूले निम्त्याउने समस्याबाट जोगिन सकिन्छ ।

ओमिक्रोनबारे के थाहा छ?

यस भेरिअन्ट कस्तो व्यवहार गर्छ र कति जोखिमपूर्ण छ भन्नेबारे निकै कम जानकारी छ ।

यो भेरिअन्ट कति सजिलै फैलिन्छ वा अन्य भेरिअन्टको तुलनामा यसले मानिसहरूलाई थप बिरामी बनाउँछ वा पहिले सोचिएकोभन्दा खोपको असर कम हुन्छ भन्नेबारे अन्योल कायम नै छ ।

झट्ट हेर्दा यो चिन्ताजनक नै देखिन्छ र देशहरूले पनि अप्रिय परिस्थिति नआओस् भने चाँडै प्रतिक्रिया जनाइरहेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत