राजनीति

राप्रपाको अध्यक्षमा थापा र लिङ्देनले गराए उम्मेदवारी दर्ता, उपाध्यक्षमा नाै जनाको उम्मेदवारी (नामावलीसहित)

काठमाडाैं । राप्रपाको अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री राजेन्द्र लिङ्नेदले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार उनीहरुले राष्ट्रिय सभागृहमा दलबलसहित पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

थापाको प्रस्तावकमा दीपक बोहरा रहेका छन् भने समर्थकमा निरञ्जन थापा रहेका छन् । यस्तै लिङ्देनको प्रस्तावकमा रामानन्द न्यौपाने र समर्थकमा विकास बहादुर महत रहेकाे निर्वाचन समितिले जानकारी दिएकाे छ । 

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रामचन्द्र राय, लिलादेवी श्रेष्ठ, रोशन कार्की, विक्रम पाण्डे, जगत प्रसाद गौचन, दिलविकास राजभण्डारी, दुर्गा श्रेष्ठ, बुद्धिमान तामाङ र  ध्रुवबहादुर प्रधान गरी ९ जनाको उम्मेदवारी परेको छ । 

यस्तै महामन्त्रीमा डा धवल शमशेर राणा, कुन्ती कुमारी शाही, भास्कर भद्रा, भुवन पाठक, श्याम तिमल्सिना र रेखा थापाको उम्मेदवारी परेको छ ।

प्यानलसहित चुनावी मैदानमा

थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान उपाध्यक्षको उम्मेदवार रहेका छन्  । यस्तै थापा प्यानलबाटै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् । 

यसैगरी महामन्त्रीको उम्मेदवार भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही रहेका छन् । 

लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार रहेका छन् भने महामन्त्रीमा डा धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम रहेको छ । 

विक्रम पाण्डेको नाम भने दुबै पक्षले प्यानलमा राखेका छन् । पदाधिकारीका बाँकी उम्मेदवार भने कसैको प्यानलमा अटाएका छैनन् ।  राप्रपाको नयाँ नेतृत्व चयनका लागि भाेलि मतदान हुँदैछ ।

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत