राजनीति

राप्रपाको मनाेनयन दर्ता आज, थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्व चयनका लागि आज निर्वाचन हुने भएको छ । राप्रपामा अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार बिहान साढे ११ देखि दिउँसाे १ बजेसम्म मनाेनयन दर्ताकाे समयसीमा ताेकिएकाे छ। मनाेनयनकाे नाममाथि दावी विरोध, अन्तिम नामावली प्रकाशन पनि शुक्रबार नै हुने र शनिबार मतदान हुने उनले बताएका छन्

कूल चार हजार ४७१ जना मतदाताले पार्टीको नेतृत्व चयनमा मतदान गर्ने भएका छन् । निर्वाचनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्रीसहित एक सय ४१ जना निर्वाचित हुने व्यवस्था छ ।

थापा र लिङ्देन दुवै पक्षले प्यानल तय गरिसकेको छ । विक्रम पाण्डे दुवै पक्षको उपाध्यक्षको सूचीमा छन् । यसबाहेक थापा समूहमा बुद्धिमान तामाङ, ध्रुबबहादुर प्रधान र रोशन कार्की उपाध्यक्षका उम्मेदवार छन्  ।

त्यस्तै, लिङ्देन पक्षबाट उपाध्यक्षका उम्मेदवारमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ छन् । राप्रपामा एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीनजना महामन्त्री निर्वाचित हुने व्यवस्था रहेको छ । लिङ्देनले महामन्त्रीमा रेखा थापा, डा. धवलशमशेर राणा र श्याम तिमल्सिनालाई उठाउने भएको छ ।

अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मेसिनमा उम्मेवारको नाम सेटिङ गर्न कम्तीमा २० घण्टा समय लाग्ने प्राविधिकले बताएका छन् ।

केन्द्रिय निर्वाचन समितिले शुक्रबार बिहानदेखि उम्मेदवारी दर्ता गराउने समय दिइएको छ । शनिबार बिहान आठ बजेदेखि पाँच बजेसम्म अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केन्द्रीय सदस्यका लागि निर्वाचन हुने छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत