गाउँ सहर

हुम्लाको लिमीमा सकियो जनगणना, जडीबुटी संकलनले गणकलाई फाराम भर्न समस्या

काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत उच्च हिमाली जिल्ला हुम्लामा करिब ८० प्रतिशत गणना सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको मूल जनगणना यही मंसिर ९ गते सकिँदै छ ।

जनगणना कार्यालयका प्रमुख विनोद भट्टका अनुसार उत्तरी भेगको नाम्खा गाउँपालिका–६, लिमीमा जनगणना सम्पन्न भएको छ । निर्धारित समयअगावै स्थानीय गणकले विवरण संकलनको काम सम्पन्न गरेका हुन् । लिमीको हल्जी, तिल र जांग गाउँमा विवरण संकलन सकिएको गणक तन्जिन फुर्बु तामाङले जानकारी दिए ।

सात गाउँपालिका रहेको हुम्लामा ४४ वडा छन् । जिल्लाका ४४ मध्ये वडा नम्बर–६, लिमी जनगणना पूरा हुने पहिलो वडा भएको छ ।

गणक सदरमुकाम सिमकोटबाट चार दिन हिँडेर लिमी पुगेका थिए । उनीहरूले गत कात्तिक २५ गतेदेखि विवरण संकलन सुरु गरेका थिए । गणक तामाङले स्थानीयवासीको सहयोगमा समयभन्दा अगावै प्रश्नावली भर्ने काम सम्पन्न भएको बताए । यसपटकको गणनामा लिमीका १४७ घरधुरीको विवरण संकलन भएको छ ।

जडीबुटी संकलनले गणकलाई फाराम भर्न समस्या
जिल्लाका अधिकांश नागरिक यति बेला वनमा जडीबुटी संकलन गर्न गएका छन् । यसले उनीहरूको विवरण संकलन तथा फाराम भर्न समस्या भएको प्रमुख भट्टले बताए । “अधिकांश नागरिक जडीबुटी संकलनका लागि वनपाखातिर गएका छन्,” उनले भने ।

जडीबुटी संकलन गर्न गएका कारण समस्या भएको गणकले गुनासो गरेका छन् । सिमकोट–१ र २, खार्पुनाथ गाउँपालिका–२, ३ र ५, चंखेली गाउँपालिका–५ का बासिन्दा यति बेला जडीबुटी संकलन गर्न वन गएका छन् । उनीहरू पुसपछि मात्रै घर फर्किन्छन् । रासस

गाउँ सहर संवाददाता

तपाईँको मत