गाउँ सहर

ब्राउनसुगर काराेबारी आमा छाेरा प्रहरी नियन्त्रणामा

दाङ । दाङ तुलसीपुर प्रहरीले ब्राउनसुगरसहित आमा–छोरालाई नियन्त्रणामा लिएकाे छ । एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगर सहित उनीहरूलाइ प्रहरीले नियन्त्रणामा लिएकाे हाे । शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठको माइतीघरमा छापा मार्दा सानो पुरिया  ९९ थान र ठूलो पुरिया एक गरी १९ ग्राम ७१० मिलिग्राम ब्राउनसुगरसहित सुशीला र उनका छोरा रोहन श्रेष्ठलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार उनीहरूले ब्राउनसुगर बिक्री वितरणका लागि पुरिया बनाउँदै गरेको अवस्थामा फेला पारिएको हो । सुशीलाको घर तुलसीपुर उपमहानगरपालिका–६ स्थित विद्युत् कार्यालयदेखि पछाडि रहे पनि हाल तुलसीपुर–५ मा बस्दै आएकी छिन् ।  आमा–छोरा नै ब्राउनसुगर कारोबारी भएकाे प्रहरीले पत्ता लगाएकाे हाे । 

उक्त कारोबारमा उनका श्रीमान् वसन्त श्रेष्ठको पनि संलग्नता रहेको भन्दै अनुसन्धानका लागि खोजी जारी रहेको प्रमुख अर्यालले बताएका छन् । 

उनीहरूलाई पक्राउ गर्नुभन्दा पहिले तुलसीपुर बसपार्कबाट दुई जनालाई पक्राउ गरिएको थियो । ब्राउनसुगरको कारोबार भइरहेको सूचनाका आधारमा जाँच गर्दा तुलसीपुर–५ बसपार्क निवासी २५ वर्षीय धीरज बुढाथोकीको साथबाट ५४० मिलिग्राम र बबई गाउँपालिका–४ घर भई हाल तुलसीपुर–६ बरुवागाउँमा डेरा गरी बस्दै आएका प्रख्यात शाहको साथबाट २६० मिलीग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जानकारी दिएकाे छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत