अर्थतन्त्र

बीमा समितिद्वारा दुर्घटना बीमा निर्देशिका २०७८ जारी

काठमाडाैं । बीमा समितिले दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको छ । समितिले एकल र सामूहिक दुर्घटना बीमा गर्न पाईने गरी छोटो अवधिका लागि बीमा निर्देशिका जारी गरेको हो ।

समितिले सामूहिक बीमालेखलाई नियमन गर्नेगरी यस्तो बीमा निर्देशिका जारी गरेको हो । जसमा सामूहिक बीमा गर्दा कुनै संगठन खडा गर्न नपाईने, बीमा गर्नकै लागि समूह बनाउन नपाईने, सामूहिक बीमा गर्दा प्रत्येक बीमकको बीमायोग्य हित कायम हुनुपर्नेलगायतका बुँदाहरु समेटिएका छन् । यदि बीमा गर्ने उद्देश्यले नै कुनै समूह खडा गरिएको प्रमाणित भएमा उक्त बीमालेख नै खारेज गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

कम्पनीहरुले सामूहिक र एकल दुर्घटना बीमालेख जारी गर्नसक्ने गरी जारी गरिएको उक्त निर्देशिकामा छोटा अवधिको बीमालेख जारी गर्न सकिने गरी व्यवस्था गरिएको छ । जसमा १ महिना, ३ महिना, ६ महिना र १ बर्षसम्मको अवधि रोज्न सकिने छ । यसरी १ महिनाको मात्रै दुर्घटना बीमा गर्दा बार्षिक बीमाशुल्कको २५ प्रतिशत, ३ महिनाको ४० प्रतिशत, ६ महिनाको ६० प्रतिशत र १ बर्षको बीमालेखमा शतप्रतिशत बीमाशुल्क बुझाउनुपर्ने उल्लेख छ ।

यस्तै व्यक्तिगत दुर्घटना बीमा गर्दा कम्पनीहरुले न्युनतम प्रतिहजार २ रुपैयाँ बीमाशुल्क लिन पाउनेछन् । यस्तै यो रकममा छुट, सहुलियतलगायत भने हुनेछैन ।

यस्तै सामूहिक बीमा गर्दा भने २ जनादेखि २५ जनासम्मको सामूहिक दुर्घटना बीमा गर्दा प्रतिहजार न्यनतम २ रुपैयाँ, २६ जनादेखि १ सयजनासम्म प्रतिहजार १.७५ रुपैयाँ, १ सय जनाभन्दा बढिका लागि प्रतिहजार १.५० रुपैयाँ बीमाशुल्क लिन पाईनेछ । यस्तै सामूहिक बीमा गर्दा बीमा अवधिभर विमितको संख्या भने तलमाथी गर्न पाईने निर्देशिकामा उल्लेख छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत