अर्थतन्त्र

विकास बैंकहरूकाे वित्तीय विवरणः मुक्तिनाथ नाफामा सबैभन्दा अगाडि - नारायणी, सिन्धु र सप्तकोशी घाटामा

काठमाडौँ । १६ ओटा विकास बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण अनुसार तीन कम्पनी घाटामा छन् भने बाँकी १३ कम्पनी नाफामा रहेका छन् ।

१६ ओटा कम्पनीमध्ये सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले नाफा कमाएको छ । कम्पनीले रू. ३४ करोड ५५ लाख ८७ हजार खुद नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १७ प्रतिशत वृद्धि भएको हो ।

दोस्रोमा महालक्ष्मी विकास बैंक रहेकाे छ । उसले रू. २३ करोड ५ लाख नाफा कमाएको छ । प्रतिशतको आधारमा चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी कर्णाली डेभलपमेण्ट बैंकको नाफामा वृद्धि भएको छ ।

चालू आवको पहिलो त्रैमासमा नारायणी डेभलपमेण्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेण्ट बैंक घाटामा गएका हुन् ।

यी तीन ओटा कम्पनीमध्ये सप्तकोशी डेभलपमेण्ट बैंकले चालू आवको पहिलो त्रैमासमा रू. ११ करोड १ लाख घाटामा रहेको हो । त्यसैगरी सिन्धु विकास बैंकले रू. ६६ लाख ६९ हजार र नारायणी डेभलपमेण्ट बैंकले रू. ९ लाख ११ हजार घाटामा रहेको हो ।

त्यसैगरी पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका १६ ओटा कम्पनीमध्ये कर्पोरेट डेभलपमेण्ट बैंक, नारायणी डेभलपमेण्ट बैंक र ग्रीन डेभलपमेण्ट बैंकले वितरणयोग्य नाफा उल्लेख गरेका छैनन् ।

नेपाल राष्ट्र बैंककाे भदाैकाे तथ्यांक अनुसार १८ विकास बैंकहरू रहेका र तिनका शाखाहरू १ हजार २९ रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत