पर्यटन

थाइल्यान्डद्वारा कोभिड–१९ को ‘कम जोखिम’ मा रहेका ६३ देशका पर्यटकहरूलाई प्रवेश अनुमति

  • एजेन्सी
  • १७ कार्तिक बुधबार, २०७८ | ०९:११:०० मा प्रकाशित
तस्बिरः ब्लूमबर्ग डटकम ।

बैंकक । डेढ वर्षको प्रतिबन्ध फुकुवा गर्दै थाइल्यान्डले विश्वका ६ दर्जनभन्दा बढी मुलुकका पर्यटकलाई प्रवेश अनुमति दिएको छ । थाई अधिकारीहरूका अनुसार कोभिड–१९ को ‘कम जोखिम’ मा रहेका ६३ देशका पर्यटकहरूलाई प्रवेश अनुमति दिएको हो ।

प्रवेश अनुमति पाउने देशको सूचीमा नेपालसमेत रहेको जनाइएको छ ।

प्रतिबन्ध खुला भएसँगै थाइल्यान्डमा दैनिक दसौं हजार पर्यटकले भ्रमण गर्ने अपेक्षा गरिएको छ । भ्रमणका लागि कोभिडविरुद्धको खोप लगाएको हुनुपर्ने र उनीहरूका लागि होटल क्वारेन्टाइन पनि हटाइएको बीबीसीले जनाएको छ ।

अधिकारीहरूका अनुसार थाइल्यान्ड भ्रमण गर्न चाहने पर्यटकहरूले खोप लगाएको प्रमाणपत्र र ७२ घण्टाभित्र गरिएको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ ।

थाइल्यान्ड प्रवेश गरेपछि भने सुरुमा अग्रिम बुकिङ गरिएको होटलमा बस्नुपर्ने र त्यहाँ कोभिड परीक्षण गरेपछि मात्र अन्यत्र जान दिइनेछ । त्यसक्रममा कोभिड पोजिटिभ देखिएमा भने क्वारेन्टाइनमा बस्नुपर्ने जनाइएको छ ।

थाइल्यान्डमा पछिल्लो समय दैनिक सरदर १० हजार जनामा कोभिडको संक्रमण पुष्टि हुने गरेको छ । त्यहाँका करिब ४२ प्रतिशत मानिसले खोपको पूर्ण मात्र लिइसकेका जनाइएको छ ।

पयर्टन क्षेत्रका अगुवाहरूले भने सरकारको पछिल्लो निर्णयलाई स्वागत गरेका छन् ।

एजेन्सी

तपाईँको मत