अर्थतन्त्र

शिवम सिमेन्ट्सद्वारा २९ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौँ । शिवम सिमेन्ट्स लिमिटेडले पब्लिक कम्पनीमा परिणत भइसकेपछिको छैठौं वार्षिक साधारणसभाले २९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा भएको साधारणसभाले २९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हाे ।

साधारणसभामा अध्यक्ष गोयलले चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँको २९ प्रतिशतका दरले (लाभांशमा लाग्ने करसहित) हुन आउने एक अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश रकम वितरण गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यस्तै साधारणसभाले कम्पनी सञ्चालक समितिको तर्फबाट अध्यक्ष गोयलले प्रस्तुत गरेको आव २०७७/०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका विवरण, आव २०७८/०७९ को आयव्ययको लेखापरीक्षण गर्न सुवोध एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट काठमाडौँलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्तावसहितका सामान्य र विशेष प्रस्ताव पारित गरेको कम्पनीका प्रवक्ता एवं सचिव लेखनाथ अर्यालले जानकारी दिए ।

उनले सर्वसाधारण शेयरधनीहरुको बैंक खातामा शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमार्फत नगद लाभांश वितरण गरिने बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत