राजनीति

बाग्मतीका नवनियुक्त मुख्यमन्त्री पाण्डे र तीन मन्त्रीले लिए शपथ

काठमाडौं । बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) वाग्मती संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेसँगै नेपाली कांग्रेसका कृष्णलाल भँडेल, नेकपा (माओवादी केन्द्र) का कुमारी मोक्तान र नेकपा (एस) कृष्णप्रसाद शर्माले मन्त्री पदको शपथ लिएका छन् । भँडेललाई भौतिक पूर्वाधार, मोक्तान सामाजिक विकास र शर्मालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

वाग्मती प्रदेशमा सत्तारुढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् ।

गाउँ सहर संवाददाता