अर्थतन्त्र

बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप र कर्जा दुबै बढ्याे

काठमाडाैँ । नेपाल राष्ट्र बैंकद्वारा जारी देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७८/७९ को दुई महिनाको तथ्याङ्कमा आधारित) ले बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ०.७ प्रतिशतले बढेको र बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले बढेको बताएकाे छ ।

मंगलबार जारी वित्तीय स्थितिमा साे कुरा बैंकले उल्लेख गरेकाे हाे ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ०.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २१.७ प्रतिशतले बढेको छ ।

२०७८ भदौमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपहरुको अंश क्रमशः ७.९ प्रतिशत, ३५.० प्रतिशत र ४९.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.५ प्रतिशत, ३२.६ प्रतिशत र ५०.९ प्रतिशत रहेको बैंकले उल्लेख गरेकाे छ ।

२०७८ भदौमसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४०.५ प्रतिशत रहेको छ । २०७७ भदौमसान्तमा यस्तो निक्षेपको अंश ४३.२ प्रतिशत रहेको थियो ।

यस्तै बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले बढेको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो कर्जा ०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३३.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.७ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ६.१ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५.४ प्रतिशतले बढेको छ ।

२०७८ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको
छ । २०७७ भदौमसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.२ प्रतिशत र १२.८ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ६.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ४.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएकाे छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ७.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६.६ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ३.३ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ३.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३.३ प्रतिशतले र हायर पर्चेज कर्जा ५.९ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा २.१ प्रतिशतले घटेको छ ।

गाउँ सहर संवाददाता