राजनीति

‘हामी समग्र धर्तीको भविष्यका लागि काम गर्छौं, पाँच दलीय गठबन्धन ‘प्रतिगामी’ : ‌ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी देश र जनताको बृहत्तर हितमा समर्पित रहेको बताएका छन् । 

शनिबार वडा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले समग्र धर्तीको भविष्यका लागि काम गर्ने पार्टी भएकाे भन्दै देशलाई नै लोकतान्त्रिक बाटोमा हिँडाउने पार्टी भएकाे दाबी गरे । 

उनले पार्टीका सम्पूर्ण क्रियाकलाप लोकतान्त्रिक हुने तर लोकतन्त्रका नाममा छाडातन्त्र नचाहेको बताए ।

ओलीले वर्तमान सत्तारुढ गठबन्धन 'प्रतिक्रियावादी र प्रतिगामी' भएको आरोप लगाएका छन् ।

'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी गठबन्धन हो । कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने, फुटाउने, कम्युनिस्ट सरकार ढाल्ने र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीका पाउँमा सेवा गर्ने?,' उनले भने । 

ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’  र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढेको बताए ।  उनले अब पार्टीभित्रको अनुशासनहीनता अन्त्य हुने बताए । उनले भने, ‘पार्टी छोड्ने, आफ्नो समूह लिएर जाने काम भयो । अब पार्टी एक भएको छ । अब पार्टीलाई कमजोर बनाउने तत्व बाहिरिएपछि राम्रो भएको छ । प्रचण्डले पार्टी बहिर्गमन गरेपछि र माधव नेपाल फरक ढंगले गएपछि हामीले पार्टीलाई सही ढंगले अगाडि बढाएका छौं ।’ 

मुलुकमा दिशाहीन, जनविरोधी सरकार गठन भएको पनि ओलीको आरोप थियो । मुलुकका सम्मानित निकायलाई विवादास्पद बनाउन खोजिएको र सिंगो प्रणालीमाथि जनताको विश्वास कमजोर हुन जानेतर्फ उनले सचेत गराएका छन् ।

“विरोधीहरु विवाद किन भएन भनेर छट्पटिरहेका छन,” उनले भने ।

ओलीले देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन उद्घाटन गरेका छन् ।  दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत एमालेले शनिबार वडा स्तरका अधिवेशन गर्न लागेको हो । ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल माध्यमबाट देशैभरका वडाको एकैसाथ अधिवेशन उद्घाटन गरेका थिए। अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सवै वडाका अधिवेशनहरू भव्य, समझदारी र एकतावद्ध साथ सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । 

ओलीले गरेको वडा उद्घाटन इन्टरनेट पहुँच भएका वडामा समेत उद्घाटन कार्यक्रम ‘डिस्प्ले’ गरिएको थिए ।  पार्टीका सदस्यले नै वडाको नेतृत्व चयन गर्ने अधिवेशनले पाँचजना प्रतिनिधिसहित सदस्यहरु चयन गर्नेछ । जसमा अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उपसचिव –२ चुनिनेछन् । 

अधिवेशनले गाउँपालिका–नगरपालिकाका वडामा ३१ सदस्यीय कमिटी बन्नेछ भने उपमहानगरपालिकाका वडामा ४१, महानगरपालिकाका वडामा ५१ सदस्यीय कमिटी गठन बन्नेछ । उद्घाटन भएका ६ हजार बढि वडाले आजै नेतृत्व पाउने एमालेले जनाएको छ । हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत