कला

लघुकथा : बेमौसमी छाता

  • गंगा खड्का
  • ६ कार्तिक शनिबार, २०७८ | ०९:५४:०० मा प्रकाशित

स्नातक तहमा पढ्ने भएर पनि मेरा छोराछोरीलाई मैले अफिसबाट फर्कँदा पापा नल्याई धरै पाउँदिनथेँ । एउटा चकलेट नै भए पनि बोकेर ल्याउने आदत मेरो पनि बसिसकेको थियो । कहिलेकाहीँ म आउँदा उनीहरू घरमा रहेनछन् भने म ब्याग राखेर घरको काममा व्यस्त हुन्थेँ । उनीहरू ब्याग खोतलेर पापा खान्थे ।

एकदिन म आउँदा दुबैजना मोबाइलमा व्यस्त रहेछन् । म ब्याग खुसुक्क राखेर भान्साको मेसोमा लागेँ । केही बेरपछि उनीहरू बिरालोको चालमा भान्सामा प्रवेश गरे । छोरीले मेरा आँखा छोपिदिँदै भनी, "मामु ! सधैँ हजुरले हाम्रो लागि केही न केही ल्याउनुहुन्छ । आज हामीले पनि हजुरका लागि केही ल्याइदिएका छौँ । हजुरले चिन्नुपछि मात्रै आँखा खोल्न पाइन्छ है ।

"छोराले मेरो हातमा केही चिज राखिदिँदै भन्यो, "मामु ! ल अब भन्नुहोस् त, यो के हो ?

"मैले छामछाम छुमछुम गरेर निमेषभरमै भनिदिएँ "छाता ।

"त्यसपछि छोरीले मेरो आँखाबाट हात झिकिदिँदै भनी, "कस्तो लाग्यो मामु ?"

"बेमौसमी भएपनि यो छाता मलाई अति मन पर्‍यो । तिमीहरूले मेरो समस्या बुझेर हिउँदको याममा नि छाता उपहार दिएजस्तै डुबानमा परेकाको लागि सरोकारवालाले सोचिदिए कस्तो हुन्थ्यो होला ?"

तपाईँको मत