राजनीति

सक्षम, शिक्षित र विश्वसनीय पार्टीपंक्ति समयको माग : सह–अध्यक्ष जोशी

पाँचथर । पाँचथर । बलभन्दा बुद्धि ठूलो हुने भन्दै शिक्षित, सक्षम र राजनीतिक सँस्कार भएका व्यक्तिलाई नेतृत्वमा ल्याउनु पर्ने माग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरमा बढ्दो छ ।

‘बलभन्दा बुद्धि ठूलो हुन्छ भन्ने सर्वकालिक ज्ञानकै आधारमा पढे लेखेका, विवेकी, अध्ययनशील व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनु छ,’ राप्रपा पाँचथरका सह–अध्यक्ष राज कुमार जोशीले विहीबार भने । ‘सक्षम, शिक्षित र विश्वसनीय पार्टीपंक्ति समयको माग हो । राजनीतिक सँस्कार अपरिहार्य आधार हो । पाँचथरको हकमा पनि सोही साश्वत सत्य स्वीकार गरौं, व्यवहारमा लागू गरौं ।’

ढाँट र जालझेलले राजनीतिक लक्ष्य प्राप्त नहुने भन्दै जोशीले भने, ‘धेरै पात्रले धेरै पटक नेपाली जनतालाई झुक्याएका छन् । ठूला–ठूला नारा र सपना देखाएर जनतालाई धोका दिएका छन् । ढाँटेर, झुक्याएर, जाली कुरा गरेर कहीँ पुगिन्न भन्ने जगजाहेर छ । समाजको यथार्थ यही हो । पार्टी भित्रको सत्य पनि यही हो ।’

विजया दशमी उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै नेता जोशीले यो विचार सार्वजनिक गरेका हुन् । महाधिवेशनबाट प्राप्त उर्जाले राप्रपा जनतामा स्थापित हुने उनको दावी छ ।

उनले भने, ‘अब हुने महाधिवेशनबाट राप्रपा बलियो वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदय हुन्छ भन्ने जनचासो छ, हाम्रो अटल विश्वास छ । यसै सन्दर्भमा पाँचथरमा एकतावद्ध भएर अधिवेशन सम्पन्न गर्नुछ । महिला, युवाहरूलाई पार्टीमा थप आकर्षण गर्नुछ ।’

सन्देशमा जोशीले भने, ‘पाँचथरबासी दाजुभाई, दिदीबहिनीहरूमा बडा दशैंको मंगलमय शुभकामना । दुर्गा भवानीको प्रसादले हामी सबैको मनोकांक्षा पूरा होस्, सुख, शान्ति र समृद्धि प्राप्त होस् भन्ने कामना गर्दछु ।’

गाउँ सहर संवाददाता

तपाईँको मत