गाउँ सहर

दशैंका लागि अहिलेसम्म सात लाखभन्दा बढीले काठमाडौँ उपत्यका छाडे, अब कतिले छाड्लान् ?

त्रिभुवन विमानस्थलमा उडान कुर्दै सर्वसाधारण । गाउँ सहर

काठमाडौँ । दशैंका लागि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् ।

असोज सुरु भएदेखि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रु बाहिरिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

घटस्थापनाको दिनसम्म फाट्टफुट्ट मात्रै गाउँघर गए पनि घटस्थापनापछि बाहिरिनेको संख्या बढेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

अग्रिम टिकट बुकिङ खुलेको केही दिनसम्म यात्रु नपाए पनि घटस्थापनापछि यात्रुको चाप बढेको उनले बताए ।

यही असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइएको थियो ।

११ गतेदेखि अहिलेसम्म साढे ५ लाखभन्दा धेरै काठमाडौँबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । फूलपाती र अष्टमीका दिन यात्रुको चाप अझ बढ्नेछ ।

गएको २४ घण्टामा मात्रै झण्डै ५० हजार जना यात्रु उपत्यकाबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो अवधिमा झण्डै ३५ हजार मानिस उपत्यका भित्रिएका छन् ।

यात्रुको चाप बढेसँगै काठमाडौँ उपत्यकासँग जोडिएका नाकाहरुमा जाम बढ्न थालेको छ । विशेषगरी नागढुङ्गा र भक्तपुरको जगातीमा लामो जाम हुने गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत