गाउँ सहर

लोक दोहोरी प्रतिष्ठान जिल्ला कास्कीको २० औँ साधारण सभा सम्पन्न

पोखरा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीको २० औँ साधारण सभा तथा विजया दशमी दीपावली तथा छट पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टले प्रतिष्ठानले आयोजना गर्ने रचनात्मक र सकारात्मक काममा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

प्रतिष्ठानले नेतृत्व विकास संगै समय व्यवस्थापन जस्ता तालिमको आयोजना गरी प्रतिष्ठनमा आवद्ध सदस्यहरुलाई सकारात्मक र रचनात्मक कार्यमा लाग्नका लागी आयोजना गर्ने तालिमको खर्च आफूले ब्यहोर्ने उनको भनाइ रहेको थियो ।

सो अवसरमा बाेल्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका प्रमुख संरक्षक प्रजापति पराजुलीले राजनैतिक हिसाबले सवैलाई समान हुने गरी अगाडी बढेको खण्डमा जुनसुकै पार्टीको सरकार आएतापनि प्रतिष्ठानले लाभ लिन सकिने बताए । पराजुलीले निकट भविष्यमा नेपालको ६६ वटै जिल्लालाई समावेश गरी भजन प्रतियोगिता र रत्यौली प्रतियोगिता गर्ने उद्देश्य रहेको समेत बताए ।

सो अवसरमा लोकदोहोरीकी अग्रज गायिका माया गिरीलाई सम्मान गरिएको थियो भने प्रतिष्ठान जिल्ला समितिका उत्कृष्ट वर्ष सदस्य भानुभक्त पौडेल, वर्ष उत्कृष्ट अनुशासित सदस्य प्रकाश वराल, उत्कृष्ट महिला सदस्य दूर्गा क्षेत्री र अनुशासित सदस्य प्रकाश बराललाई प्रमाणपत्र, दोसल्ला र माला लगाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका सचिव माधव चापागाइँले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिएभने कोषाध्यक्ष सविना गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन  ।

प्रतिष्ठान कास्कीका अध्यक्ष टेक क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका निवर्तमान केन्द्रिय महासचिव चोलेन्द्र पौडेल, सम्मानित व्यक्तित्व माया गिरी, केन्द्रीय सचिव जीवन दाहाल, केन्द्रीय सदस्य सरला पाण्डे, प्रतिष्ठान प्रर्वतका अध्यक्ष दीपक गदाल, कास्कीका पूर्व अध्यक्ष केशव देवकोटा, वसन्त बास्तोला, संचारकर्मी श्याम कुंवर लगायतले बाेलेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत