राजनीति

मुख्यमन्त्री शाक्यले विश्वासको आज मत लिने

काठमाडाैं । बागमती प्रदेशमा आज प्रदेश सभाको बैठक बस्ने भएको छ । आइतबार अपरान्ह ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने तयारी गरेकी छन् ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने र उपधारा ३ मा तत्काल कायम रहेको संसदको बहुमतबाट पारित नभए मुख्यमन्त्री पदमुक्त हुने उल्लेख छ ।

प्रदेशमा ५६ सांसद रहेको एमाले विभाजनपछि ४३ सदस्यमा सीमित छ । एमालेबाट विभाजित बनेका नेकपा एकीकृत समाजवादीका १३ सांसद वहुमत अल्पमतका लागि निर्णायक छन् ।

१०९ प्रदेशसभा सदस्य रहेको वाग्मती प्रदेशमा सरकार जोगाउन कम्तीमा ५५ सांसद चाहिन्छ । भदौ २ मा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री शाक्यले संसदममा विश्वासको मत पाउने सम्भावना कम छ । तथापि अरु दलको साझेदारीमा बहुमत प्राप्त गर्न सकिने अपेक्षा एमालेको छ ।

तर‚ गठबन्धनबाहिर रहेका अन्य साना दलसँग मिल्दा पनि मुख्यमन्त्री शाक्यका लागि आवश्यक मत पुग्दैन ।

४३ जना सांसद रहेको एमालेले गठबन्धनबाहिर रहेका विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग सहकार्य गर्दा पनि आवश्यक मत पुर्‍याउन सक्दैन।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३ र जनता सामाजवादी पार्टीका एकसहित विपक्षी गठबन्धनसँग ६० प्रदेशसभा सदस्य छन् ।

यो समीकरणमा कुनै परिवर्तन नआए शाक्य मुख्यमन्त्री पदमा अल्पमतमा पर्ने निश्चित छ ।

विपक्षी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डे मुख्यमन्त्रीका रूपमा अघि सर्ने तयारीमा छन् । उनलाई विपक्षी गठबन्धनका दलबाट साथ रहने देखिएको छ ।

केही दिनअघि केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूको बैठकमा नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश १ र बागमतीमा मुख्यमन्त्री दिने सहमति भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत