कला

लघुकथा: ज्येष्ठ नागरिक सम्मान

ज्येष्ठ नागरिक सम्मान दिवसको अवसरमा एउटा कार्यक्रममा म कार्यक्रम सञ्चालिकाको रूपमा आमन्त्रित थिएँ । भगवानको अवतार ज्येष्ठ नागरिकको सम्मानजनक कार्यक्रममा यो अवसर पाएर म पुलकित भएको थिएँ । कार्यक्रम पनि निकै दमदार बन्यो । ज्येष्ठ नागरिकको ओठको हाँसोले मेरो हृदयमा स्पर्श गर्दा मलाई अनन्तकोटि आनन्द आएको थियो । मुस्कान दिवस र ज्येष्ठ नागरिकका मुस्कान कुनै कलाकारले बनाएको सुन्दर चित्रकृतिजस्तै आपसमा मिसिएर उत्कृष्ट बनेका थिए ।

दिनभरको रमाइलो मेरो लागि पानीको भुल्का जस्तै भयो । भाइले आमालाई ज्वरो आएर अस्पताल ल्याएको कोभिड चेक गर्न लगायो भनेर फोनबाट सुनायो ।

"समय हेरेर कदम चाल्नुपर्छ है बुहारी । घरमा बालबच्चा छन्, म दमको रोगी छु । भरे आमाको रिपोर्ट पोजेटिभ आयो भने के गर्छ्यौ ?" सासूका निषेधाज्ञाले विक्षिप्त भएर मैले श्रीमानलाई फोन गरेँ । उहाँले पनि आमाकै बोली बोल्नुभयो ।

"यत्तिका ज्येष्ठ नागरिकका सम्मानमा, सरिक भएर खुसी बटुलेकी मैले मेरी ममतामयी आमाको मुख हेर्न जान पाइनँ । आखिर घरपरिवारको विकृत अनुशासनको जन्जीरमा बाँधिएर कति बाँच्ने हामी महिलाहरु ? के आफ्नो ज्यानको बाजि राखेर जन्माउने आमाको दु:खमा सामेल हुने कुनै अधिकार छैन हामीलाई ?"

बूढानीलकण्ठ १, काठमाडौँ ।

तपाईँको मत