अर्थतन्त्र

प्रतिपक्षी एमालेले नाराबाजी गरिरहे पनि प्रतिनिधिसभाबाट बजेट पारित

काठमाडाैं । विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधिसभाले २०७८/०७९ को बजेट पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।

बजेट पारित पारित भएसँगै सरकारलाई खर्च गर्नका लागि बाटो खुलेको छ । अध्यादेशको समय गत बुधबार सकिएपछि खर्च गर्न बन्देज लागेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले बहुमतले बजेट पारित भएको बताए ।

अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयकमा सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालूतर्फको खर्च १० प्रतिशत कटौती गरिएको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले कोभिड–१९ प्रभावितको जीवनरक्षा र शिथिल अर्थतन्त्रको पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने बताएका थिए ।

अहिलेसम्म ५७ लाख ३० हजारले पहिलो मात्रा र ५१ लाखले दुवै मात्रा प्राप्त गरिसकेका छन् । सरकारले कोभिड १९ खोप खरिदको स्रोतको अभाव नहुने जनाएको छ । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते बजेट अध्यादेश ल्याएका थिए ।

विधेयकको मन्त्रालयत शीर्षकमाथिको छलफल सकाएर अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि सभामुखले खर्च कटौती सम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको प्रस्ताव निर्णयार्थ पेश गरे । सांसद सुवालको खर्च कटौतीको प्रस्ताव अस्वीकार भएपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेश गरे । एमालेको नाराबाजीका बीच विधेयक बहुमतले पारित भएको हो ।

प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुख मार्फत राष्ट्रपतिकहाँ पठाउँछ र कार्यान्वयनमा आउँछ । त्यसपछि हालको बजेट होलिडेको अन्त्य हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत