राजनीति

माधव नेपालप्रति मुख्यमन्त्री अष्टलक्ष्मीकाे सम्बाेधनमा ओलीको जवाफी टिप्पणी

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई एमालेमा फर्कन आग्रह गरेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल आवश्यक नरहेकाे टिप्पणी गरेका छन् ।

बिहीबार एमाले काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै उनले नेपालले लिएको बाटो गलत भन्दै मूल पार्टीमा फर्किएर आउन आग्रह गरेपछि ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालको पार्टी फुटाउन आवश्यकता हो भन्दै प्रश्न गरेका छन् ।
 
“केही साथीहरु अहिले पनि भन्नुहुन्छ । माधव कामरेड आउनुुस् । तपाईँको आवश्यकता छ भनेर । फुटाउनलाई आवश्यकता छ उहाँको यहाँ ? फेरि पार्टी फुटाउने ? के गर्न आवश्यकता छ माधव कामरेडको म बुझदिन्,” उनले भने । 

बिहीबार एमाले काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै शाक्यले भनिन्- “माधव नेपाल हामी सबैको नेता हो । माधव नेपाल हाम्रो अग्रज हो । उहाँले त्यही ढंगले काम गर्नुभएको छ । आफूले त्याग गरेको, दुःख गरेको, जन्माएको पार्टी चटक्क त्यागेर नयाँ पार्टी गठन गरेर जनमत सिर्जना गर्छु भनेको कुरा सही हुन सक्दैन,” उनले भनिन्, “म अनुरोध गर्न चाहन्छु उहाँलाई आफूले दुःख गरेको पार्टी, आफूले त्याग गरेको, जन्माएको पार्टी, हामी सबै नेताहरू लागेको पार्टीमा एकचोटि मनमनमा समीक्षा गर्नुस्, फर्किएर आउनुस् । एमालेलाई सुदृढ एमाले बनाउनका लागि तपाईंको भूमिका आवश्यक छ ।”

ओलीले लामो समयसम्मसँगै काम गरेर लोभ लाग्ने भए पनि त्यसलाई बिर्सिदिनु पर्ने बताए ।

भेलामा उनले ‘बिग्रिएका’ दुुई चार तत्त्व बाहिरिएको बताए । 

“आज पार्टी जस्ताको तस्तै खडा छ । नेकपा एमालेको भूमिका परिवर्तन भयो । संगठनमा परिवर्तन भएको छैन ।” उनले कटाक्ष गर्दै भने, “नराम्रो नभन्नू है भन्छन् । सडेका गलेका तत्त्वभन्दा गाली गरेको जस्तो हुन्छ । सड्न लागेका बाहिरिए भन्दा होला ।” 

त्यस्तै ओलीले कार्यकर्ताले पार्टी जोगाएको बताए । “यसपटक पार्टी हामीले जोगाएको होइन, कार्यकर्ताले जोगाएको हो । हामीलाई त साधरण सदस्यबाट पनि हटाइएको थियो,” उनले भने ।

गाउँ सहर संवाददाता

तपाईँको मत