खेल

अमेरिकामाथि नेपालको ५ विकेटकाे जित, आजै ओमानसँग खेल्दै

काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले जित निकालेको छ । 

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितका लागि कुशल भुर्तेल र रहित कुमार पौडेलले शानदार प्रर्दशन गरे ।

नेपालको जितमा ओपनर कुशल ले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक हो ।

उत्कृष्ट सुरुवात गरेको नेपालका लागि कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६६ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय अन्तराष्ट्रियमा नेपालको कीर्तिमानी साझेदारी हो ।

यस्तै रोहितले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । लगातार दोस्रो अर्धशतक पूरा गर्ने क्रममा उनले बलमा ३ छक्का र २ चौका प्रहार गरे । विनोद भण्डारी ३७ रनमा आउट भए । करण केसी १ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्ल १७ तथा कुशल मल्ल १ रनमा आउट भए ।

अमेरिकाका निसर्ग पटेल र नोस्तुश केन्जिगेले २/२ विकेट लिए । सौरभ नेत्रभाल्करले १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।

अमेरिकाका लागि मोनान्क पटेलले १०० रनको शतकीय इनिङ्स खेले । यस्तै निसर्ग पटेलले २१ रन जोड्दा करिमा गोरेले १६ रन जोडे ।संजय कृष्णमुर्थी र नोस्तुश केन्जिगेले समान १३/१३ रन जोडे भने जसकरण मल्होत्राले ११ रन बनाएका थिए ।

टस हारेर बलिङ गरेको नेपालका लागि सन्दीप लामिछाने, शुसन भारी र विक्रम सोबले सर्वाधिक २-२ विकेट लिए । १० ओभर बलिङ गरेका भारीले ३१ रन खर्चिएर २ विकेट लिए । यस्तै, १० ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै ३५ रन खर्चिए ।

अर्का तीब्र गतिका बलर विक्रमले ६ ओभर बलिङ गर्दै ३३ रन खर्चिएर २ विकेट लिए । विक्रमले अमेरिकाका मोनाङ्कलाई १०० रनमा कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए । यता, कुशल मल्ले समान १-१ विकेट लिए । १६ रन बनाएका अमेरिकाका नोस्थुस केन्जिगेलाई कुशल मल्ल र सन्दीप लामिछानेले रन आउट गराएका थिए । सन्दीपले करिमा गोरेलाई रन १६ रनमा रन आउट गराएका थिए ।

नेपालका करण केसी महँगा सावित भए । ५ ओभर बलिङ गरेका करणले बिनाविकेट ४१ रन खर्चिएका थिए । यस्तै, सोमपाल कामीसमेत विकेटविहीन रहे । ८ ओभर बलिङ गरेका सोमपालले ३५ रन खर्चिएका थिए । नेपालले अमेरिकालाई अतिरिक्त ७ रन दिएको थियो ।

यसअघि नेपाली टोलीले लिग-२ को खेल तयारीका लागि पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण शृंखला खेलेको थियो । नेपालले दुवै शृंखला आफ्नो पक्षमा पारेको थियो ।

 

नेपालले आज ओमानको सामना गर्दै

 

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले अल अमिरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल जितको लक्ष्यमा हुनेछ । पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत