राजनीति

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले सहभागी नहुने भएको छ । सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाएका छन् । 

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सभामुखले आज बोलाएको बैठकमा एमाले सहभागी नहुने बताए ।

उनले सत्तापक्ष र प्रतिपक्षका हैसियतमा कुनै छलफल भए वा बोलाएमा भने एमालेले सहभागिता जनाउने बताए ।

एमालेबाट निर्वाचित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेको माग छ । पार्टीले कारबाही गर्दा पनि पदमुक्तिको सूचना जारी नगरिएको भन्दै एमालेले संसद् अवरुद्ध गरिरहेको छ । सोही विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

एमालेले वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालनिकट २८ सांसदले संसद् बैठक बहिष्कार गरेका थिए । सोही ह्विप उल्लंघनलाई लिएर एमालेले भदौ १ गते संसद् सचिवालयलाई सूचना दिएको थियो । एमालेले कारबाहीको सिफारिस गरेका १४ सहित २३ जना प्रतिनिधिसभा सदस्यले नयाँ दल नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत