राजनीति

हिन्दु राष्ट्र र धर्मनिरपेक्षकाे बारेमा जनमत संग्रह गर्नुपर्नेमा राणाकाे जाेड

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्सेर राणाले विश्वको आस्थाको केन्द्र, एकमात्र हिन्दु राष्ट्रको चिनारी मेटेर धर्मनिरपेक्ष बनाउनु गल्ती भएको बताएका छन् ।

नेपालमा हिन्दु राष्ट्रको पक्षमा जनमत व्यापक रहेको भन्दै अध्यक्ष राणाले हिन्दु राष्ट्र र धर्मनिरपेक्ष बीच कुन राख्ने भन्ने निश्चित गर्न जनमत संग्रह गर्नु उपयुक्त हुने बताए ।

‘एकमात्र हिन्दु राष्ट्रको रुपमा सम्पूर्ण विश्वले नेपाललाई आस्थाको केन्द्रविन्दूको रुपमा हेर्थे । धर्मनिरपेक्ष बनाएर हामीले त्यो चिनारी, आस्था सबै मेट्यौं,’ एक टेलिभिजन अन्तरवार्तामा बोल्दै राणाले भने ।

प्रजातन्त्रलाई सबल तुल्याउन, निष्पक्ष राष्ट्रप्रमुखको रुपमा राजसंस्था बहाली गर्नु पर्ने उनको भनाइ छ ।

‘राष्ट्रप्रमुख त्यो संस्था हो जसले निष्पक्ष भएर काम गर्नुपर्छ । गणतन्त्रको बहालीदेखि अहिलेसम्मको अनुभवमा राष्ट्रपतिको भूमिका विवादस्पद रह्यो । पार्टीको प्रतिनिधि राष्ट्रप्रमुख हुँदा, सम्पूर्णले अपेक्षा गरेको निष्पक्षता प्राप्त नहुँदो रहेछ,’ उनले भने ।

‘राष्ट्रप्रमुख पार्टी प्रति मात्र नभएर गुटको पक्षमा उभिनु दुःखद अनुभूति भयो । यसकारण निष्पक्ष राष्ट्रप्रमुखको रुपमा, रेफ्रिको भूमिकामा राजसंस्था पुनर्बहाली गर्नु आवश्यक भएको छ ।’

कार्तिकमा तय भएको राप्रपाको महाधिवेशन समयमै सम्पन्न हुने उनको भनाइ थियो ।

राप्रपामा दोस्रो पुस्ताको पनि दावी छ नि ? भन्ने प्रश्नमा, प्रजातन्त्रमा प्रतिस्पर्धामा उत्रन सबैलाई हक प्राप्त हुन्छ, उनले भने ।

महाधिवेशनबाट प्राप्त उर्जाबाट राप्रपा जनतामा स्थापित हुने उनले दावी गरे ।
 

गाउँ सहर संवाददाता

तपाईँको मत