ब्लग

“जनै काण्ड”

[किन लगाएको बुढा? कति डिस्टर्ब गर्ने जेलिएको छ जेलिएको छ]

साँझ झमक्क परेको हुन्छ। घडीले ७ बजेको संकेत दिइरहेको छ। सबै कामबाट आफ्नो घर फर्किरहँदा निरज भने पसल पसल हतार हतारमा केहि सोध्दै दगुरिरहन्छ।

"ए बा जनै पाउँछ?"
"जनै छैन त बाबू ।"

(अर्को पसलमा गएर)
"ए दाजु जनै पाउँछ?"
"अहँ भाई छैन त जनै।"

९/१० पसल घुमेर निरज जनै खोज्छ तर पाउँदैन।
"अघिल्लो वर्ष त केशब साहुकोमा राख्या थियो त्यहाँ जानू पर्‍यो।" निरज मनमनै सोचेर केशबको पसलमा दगुरेर पुग्छ।

"केशब बा जनै छ?"
(मुसुमुसु हाँस्दै) "हैन ए निरज आज काँ बाट जनै खोज्न आयौ? अचम्म गरेउ त।"
"काम परेर आएको नि बा। जनै फेर्न भोलि बिहानै ससुराली जानू छ। भोलि उता बोलाउनु भएको छ।"

"लौ खत्तम भएछ। मेरो मा थियो बिहान सकियो हौ।"

"एकपटक हेर्नू त बा छ कि कतै लुकेको?" फिस्स हाँस्दै निरज बा लाई हेर्न लगाउँछ।

(एकछिन सबै कुनाकाप्चा खोजिसकेपछि केशब बा)
"ए निरज छैन रहेछ सबै ठाउँ हेरे। तर कतै पाईएन है।"

" हस बा। धन्यवाद।"

निरज केशब बा संग बिदा माग्दै त्यहाँबाट घर फर्कन्छ। बाटामा उ जनै पुर्णिमाको अवसरमा ससुरालीमा बोलाएको कुरा सम्झन्छ। पोहोर साल ससुरालीमा जनै फेर्न बोलाउँदा उसले जनै नलाई गएको सम्झन्छ। ससुरा बा को घोचिलो भनाई सम्झन्छ।

"ज्वाइँ साहब एउटा जनै भिर्न नसक्नेले हाम्री छोरी कसरी पो जिम्मा लिनु भयो? (सबै गललल हाँस्छन्)"
त्यसबेला निरज केही बोल्न नसकी लाजले शिर निहुराएर बस्छ। उ पुलुक्क आफ्नी श्रीमतीतर्फ हेर्छ।
श्रीमती लजालु अनुहार पार्दै मुसुमुसु हास्दै निरजलाई छड्के हेराई हेर्छे।

सासू आमाको पनि भनाई सम्झन्छ "ज्वाइँसेब बुवा यसै जिस्किनुहुन्छ। कपडा खोल्दा झर्‍यो होला। अप्ठ्यारो नमान्नु है। तर आजको विधि अपनाउन पनि जनै फेर्नै पर्ने हुन्छ नि।"
"हस आमा अर्को वर्ष म सम्झेर लगाएर आउँछु।" निरज सासूतर्फ पुलुक्क लाजको हेराइ हेर्दै वाचा गर्छ।

कसो सासू आमाले त्यति भनेर उसलाई बचाएकी थिइन। नत्र ससुराले त प्रश्न नै उब्ज्याए धागोको(जनैको) जिम्मेवारी लिन नसक्नेले कसरी छोरीको जिम्मेवारी लिन सकेको होला भनी।

निरज पनि एक किसिमको कुण्ठा बोकेर ससुरा पट्टि छड्के नजर हेर्दै सोच्छ "धागोसंग बिहे गराएको हो कि छोरीसंग?" तर उ निशब्द केही जवाफ फर्काउन सक्दैन।

अन्य ज्वाइँहरुको अगाडि उ आफुलाई छेडछाड भएकोमा आफ्नो बेइज्जति सम्झन्छ। तर सोझो निरज चुपचाप जनै फेरेर एकैछिन पछि सबै कुरा भुल्दछ।

निरज पुरानो दिनका यादहरुमा फर्कन्छ। उ ब्रतबन्ध गरेको आफ्नो बाल्यकाल सम्झन्छ। गुरुले होम गर्न बसाएर जज्ञमा अनेक विधि गर्दै मन्त्र कानमा सात पटक फुकेका थिए। अनि भनेका थिए "यो मन्त्र अरुलाई सुनाउन हुदैन है। आफै सङ्ग मात्र राख्नुपर्छ।"
उनले कानमा फुकेको मन्त्र थियो " ॐ भुर्भूस्व: तत... " अहो झन्डै निरजले यहाँ भन्यो। गुरुले नभन्न भनेका थिए।
ठूलो अनिस्ठ हुन्थ्यो सायद। निरज सम्झँदै हाँस्छ।

उसले सानोमा जनै नलगाएको कहाँ हो र। उ त रात दिन जनै लगाउँथ्यो। ठूलो हुँदै जाँदा मन्त्र जप्न छाडे पनि जनै अनिवार्य झुण्डिएको हुन्थ्यो उसको शरिरमा। जनैका केहि  फाईदा थिए। जिउ चिलाउदा पछाडी हात नपुग्ने ठाउँ मा जनै घस्रन धेरै मजा आउथ्यो। न्वाउँदा साबुन लगाउँदा अगाडि पछाडि जनै घोट्न कम मजा हुँदैन थियो। कतै जाँदा कपडा फेर्दा वा सर्ट ल/टिसर्ट फेर्दा कसैले जनै लगाएको देखिहाले भने पनि अन्यले "आजकलको केटा भएर पनि जनै लगाएको तिमीलाई मात्र देखे" भन्दा प्रफुल्लित बन्थ्यो निरज।

जनै ले अलि अलि झन्झट पनि थपेको थियो उसको जीवनमा। कतै बस्दा, हिँड्दा वा काम गरिरहँदा जनै हातमा झर्दै पाखुरातर्फ आउने, काम गर्दा घष्रण उत्पन्न गर्ने, स्वतन्त्र काममा बाधा पुर्‍याउने, चर्पिमा बस्दा पुछार सम्म झुण्डिने भएकाले कानमा सिउरिन पर्ने। यि निरजले जनै लगाउँदाको केही समस्या थिए। त्यसैले उ अलिक छोटो जनै लगाउने गर्थ्यो।

निरजले कलेजमा एकदिन साथिहरुसंग बस्दा बफ म:म खाएको थियो। त्यसपछि उसको मनमा माछा मासु खाने सम्म ठिकै थियो तर अब बफ खाने हुँदा जनै लगाईरहने बानी खराब लाग्यो। साथिहरुले पनि उसलाई बफ बाहुन भनी जिस्काउन लागे। उसको अनेकौँ मान मर्यादा र आत्मसम्मानमा ठूलो धक्का महशुस गर्‍यो। वास्तवमा जनै यतिका वर्ष रक्षा गरेको निरजले अन्तत: जनै नलगाउने निर्णय गर्दै बागमती पशुपतिनाथ परिसरमा जनै समर्पण गरेको थियो।

उसको बढदो उमेरसंग विवाहको कुरा आउन थाल्यो। उ पनि बेहुला हुने तयारी गर्न लाग्यो। विवाहमा अनेक कर्मकाण्ड गर्नुपर्ने हुँदा उ जनै लगाउन बाध्य भयो। आफ्ना ठूला मान्यजनले उसलाई जिस्काउन थाले। "विवाह गर्ने योग्य मान्छे तर जनै लाउँदैनन आजकल का नवयुवकहरु" यस्ता भनाई उसका अगाडि पेचिलो हुन थालेपछि उ बाध्य भएर जनै लगाएको थियो।

निरज बिगत सम्झँदै एक्लै हाँस्छ "छोरी माग्न म गएको थिइन नि लायकको देखेरै हो ससुरा बा आफैँ आएका। फेरि पहिला जनै को जिम्मेवारी कति अपनाएको छ भनी प्रश्न गरेर छोरी सुम्पिएको भए हुने थियो। त्यो बेला बा जोसिलो हसिलो केटो देख्दै दङ्ग परेका थिए।"

विवाहको केही महिनापछि निरजकी श्रीमतिले भनेकी थिइ मध्य रातमा  "आ यो जनै किन लगाएको बुढा? कति डिस्टर्ब गर्ने जेलिएको छ जेलिएको छ। खोलेर फ्याल्दा पनि त हुन्छ नि।"
"अरुको डर हैन तर यहाँ घरको बा र ससुरा बा ले के भन्नू हुन्छ नि जनै नलाउँदा। "
"के भन्नू र खै ज्वाइँ सर्ट खोल्नु त भन्दै हेर्नू हुन्न होला त।" मध्यरातमा लामो हाँसो हाँस्दै श्रीमती ठट्टा गर्छिन्।
उनीहरु दुबै बेजोड हाँसेका थिए।

निरज पुन: झस्कन्छ। त्यो हाँसो अझै पनि उसको कानमा गुञ्जिन्छ। तर पोहोर सालको ससुरा बा को तितो भनाईले एक थप्पड खाए जस्तै महशुस गर्छ। त्यसैले उ जनै लिन राति अबेर बजार दौडन्छ।

तपाईँको मत