राजनीति

इन्दिरा पन्तकाे प्रश्न : आफू मन्त्री बन्न नपाएपछि आगो ओकल्ने दाेस्राे पुस्ता अहिले कता छन् ?

नेकपा एमाले पार्टी कसको नेतृत्वमा दर्ता भयो वा को कसले हस्ताक्षर गरे, सही गरे वा गलत गरे आज म त्यतातिर जान चाहन्न । पार्टी बिभाजन नहुनुपर्थ्यो । भयो । तर कसका कारणले र के कारणले बिभाजन भयो यसको निष्पक्ष समिक्षा गर्न आवश्यक छ ।

नेकपा एमाले बिभाजनका सुत्रधार त अहिलेको दोस्रो पुस्ता होईन र ? केपी ओली र माधव नेपाललाई मिल्नै नदिने को हो ? हिजो पार्टी अध्यक्ष र सरकारका बिरुद्ध आगो ओकल्नेहरु अहिले कता छन ? के उनीहरुले बाँकी रहेको एमालेलाई सुदृढ बनाउन भूमिका खेल्लान ?

आफू मन्त्री बन्न नपाएपछि बैचारिक, सैद्धान्तिक, बैधानिक बिचलन भयो भनेर आगो सल्काएको बिर्सनु भयाे ? अनि सरकारमा भएकाले पनि पार्टीको नेतृत्व आफ्नो पोल्टामा नआउलाकी भन्ने डरले आफ्नै पार्टीका नेताहरुको बिरुद्ध अध्यक्षलाई उचालेको र मिल्नै नसक्ने अवस्थामा पुर्‍याएको होईन ?

माधव नेपाल र केपी ओलीलाई मिल्नै नदिएर ३६ को आँकडामा पुर्‍याउनेहरु आज तपाईँको गुटमा लागेकै भरमा चोखिए ? रातारात महान भए ? जय जयकारका हकदार भए ? कम्तिमा यो बिभाजनको पृष्ठभूमी तयार पार्ने पात्रहरुका बारेमा स्पष्ट हुनुपर्छ ।

म अझै पनि पार्टी एकतावद्ध बन्नुपर्छ भन्ने पक्षमा छु । तर नयाँ दल दर्ता गर्न जानेहरुका कारण मात्र त्यत्रो शक्तिशाली पार्टी बिभाजन भयो भन्ने ठान्दिन ।

दोस्रो तहका नेताहरु यो वा त्यो समुहमा लागेर नउचालेको भए न नेकपा एमालेको सरकार जान्थ्यो न त पार्टी बिभाजन हुन्थ्यो ।

नायक त ति हुन् जसले सही समयमै संभावित दुर्घटनाको आँकलन गर्छन् र जहाज़ सुरक्षित अवतरण गराउछन् ।

दुर्घटनाको नजिक पुर्‍याएर आफ्नो मात्र ज्यान जोगाउन प्याराशुटमा हाम्फाल्नेहरुलाई कसरी नायक भन्न सकिन्छ र ?

गाउँ सहर संवाददाता

तपाईँको मत