गाउँ सहर

प्रधानमन्त्री देउवाले भने- ‘अफगानिस्तानबाट नेपालीको उद्धार गरेर सरकारले जिम्मेवारी निभाउनेछ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार र समन्वयको सरकार गम्भिरतापूर्वक लागेकाे बताएका छन् ।

प्रधानमन्त्री त्यहाँ रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धारको प्रबन्ध मिलाउन आफूले आइतबार नै निर्देशन दिइसकेको उनले जनाएका छन् ।

‘सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’

तालिवान लडाकुले अफगानिस्तानको सत्ता हातमा लिएसँगै अमेरिका, बेलायतलगायत मुलुकले काबुलस्थित आफ्ना दूतावासमा कार्यरत नेपाली कामदारलाई फर्काउन थालेका छन् । उद्धारअघि नेपालीको पीसीआर परीक्षण पनि गर्न थालिएको छ ।

उद्धार गरिएका नेपालीलाई दुबई, दोहा र लन्डन पुर्‍याउन थालिएको छ । अमेरिकी दूतावासको सुरक्षामा खटिएका ३ सय ८५ जना नेपाली सुरक्षा गार्डलाई जतिखेर पनि उड्नुपर्ने गरी तयारी अवस्थामा राखिएको छ ।

काबुलस्थित बेलायती दूतावासमा कार्यरत ८७ जना नेपाली सुरक्षा गार्डलाई आइतबार राति नै बेलायत लैजाने गरी तयारी अवस्थामा राखिएको थियो ।

 

नेपाल सरकार पनि अफगानिस्तानमा बढ्दो द्वन्द्वलाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकलाई उद्धार गरेर ल्याउन एक कार्यदल बनाएको छ ।

अमेरिकी सेना फिर्तीको घोषणासँगै आक्रमण तीव्र पारेको विद्रोही तालिबान लडाकुले अफगानिस्तानमा पूरै पकड जमाइसकेको छ । राजधानी काबुलसमेत विद्रोहीको नियन्त्रणमा गएपछि राष्ट्रपति असरफ घानीले समेत मुलुक छाडिसकेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत