कृषि

माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसान समस्यामा

लहान । सिरहामा बर्सेनि रासायनिक मलको माग बढ्दै गएको छ ।

माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसान समस्यामा परेका छन् । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा बर्सेनि डिएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि अन्य रासायनिक मलको बिक्री वितरण बढेको हो ।

एकातिर सिरहामा रासायनिक मलको माग बढ्दै गएको छ भने अर्कोतिर जिल्लामा रासायनिक मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लहानमा बर्सेनि मलको आपूर्ति घट्दै गएकाले किसान समस्या परेका हुन् ।

आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्षमा ३२ हजार ५०० बोरा डिएपी र छ हजार ४४० बोरा युरिया मलको आपूर्ति कम भएको हो । आर्थिक वर्ष २०७६/०७७ मा ९२ हजार ६८३ बोरा डिएपी र ८४ हजार ९६० बोरा युरिया मल आपूर्ति भएकोमा गत आर्थिक वर्षमा ६० हजार १८३ बोरा डिएपी र ७८ हजार ५२० बोरा युरिया मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लहानका प्रमुख मणिराज पौडेलले जानकारी दिए ।

उहाँका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा २३ हजार ७७ बोरा युरिया र दुई हजार ४०० बोरा डिएपी मल आपूर्ति भएकोमा आव २०७४/०७५ मा २६ हजार ७८८ बोरा युरिया र आठ हजार ५४९ बोरा डिएपी मल आपूर्ति भएको थियो । माग अनुसार आपूर्ति हुन नसक्दा जिल्लामा रासायनिक मलको हाहाकार हुने गरेको उहाँको भनाइ छ ।

त्यस्तै, आव २०७३/०७४ मा ९५ हजार ३२० बोरा डिएपी मल र ९८ हजार ७०५ बोरा युरिया मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लहानले जनाएको छ । सिरहामा साउन महिनामा मात्र ३० हजार बोरा युरिया र त्यतिकै परिमाणमा डिएपी मल चाहिएकोमा हाल १५ हजार ८८५ बोरा युरिया र दुई हजार ८०० बोरा डिएपी मल आपूर्ति भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट सो परिमाणको मल प्राप्त भएपछि कोटा निर्धारण गरेर हिजोबाट सिरहाका स्थानीय तहमा रहेका सहकारी संस्थाका डिलरहरूमार्फत किसानलाई वितरण गर्न थालिएको छ । “हामीलाई गत शुक्रवार १५ हजार ८८५ बोरा युरिया र दुई हजार ८०० बोरा डिएपी मल मात्र प्राप्त भएको छ”, कार्यालय प्रमुख पौडेलले भने, “मल आउने बित्तिकै बिक्री वितरण सुरु गरेका छौँ ।” बाली सघनता र खेतीयोग्य क्षेत्रफलका आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी सिफारिसका आधारमा सहकारी संस्थाका डिलरहरूमार्फत मलखाद्य वितरण सुरु गरेको उनको भनाइ छ ।

डिएपी र युरिया मलको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटक पटक पत्राचार गरे पनि बर्सेनि आपूर्ति घट्दै गएकोले समस्यामा परेको प्रमुख पौडेलले बताउनुभयो ।डिएपी र युरिया मलको बर्सेनि आपूर्ति कम भएपछि कृषि सामग्री कम्पनी लहानले झन्डै आधा मूल्य बराबरको रासायनिक मल मात्र बिक्री गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा रु. २७ करोड ४३ लाख ७३ हजार ३४ मूल्य बराबरको मलखाद्य बिक्री गरेको कृषि सामग्री कम्पनी लहानले गत आर्थिक वर्षमा रु. १९ करोड ६५ लाख ६३ हजार ३१४ मूल्य बराबरको मात्र रासायनिक मल बिक्री गरेको कार्यालयका लेखा प्रमुख नारायण खडकाले जानकारी दिए ।

सिरहामा कृषि सामग्री कम्पनी र साल्ट्र टेड्रिङ्ग कम्पनीले गाउँ गाउँमा सहकारी संस्थामार्फत र सहकारी नभएको गाउँमा स्थानीय तहको सिफारिसमा मलखाद्य बिक्री वितरण गर्दै आएको छ । धान रोपाइँ गर्ने बेला भएकाले युरिया र डिएपी मलको माग बढेपनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सिमा नाकामा भएको कडाइलगायत कारणले सिरहामा युरिया र डिएपी मलको आभाव हुने गरेको प्रमुख पौडेलको भनाइ छ ।

डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मलखाद्यको समस्या भइरहेको नेपाल कृषक महासङ्घ प्रदेश नं २ का अध्यक्ष मुक्ति यादवले बताए । माग अनुसार आपूर्ति हुन नसक्दा यहाँका किसानहरू बर्सेनि मलका लागि डिलरहरू चहार्ने गरेको तरपनि सहज रुपमा मल पाउने अवस्था नरहेको उहाँको भनाइ छ ।

सिरहामा यस वर्ष कूल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये ९५ प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्र राजविराज सप्तरीले जनाएको छ । अधिकांश खेतीयोग्य जग्गामा धान रोपाइँ भए पनि समयमा मलखाद्य नपाउँदा किसान मारमा परेका छन् ।

धानमा मल हाल्ने बेला हुँदासमेत अनुदानमा प्राप्त हुने रासायनिक मल नपाउँदा किसानले महँगोमा व्यवसायीबाट मल खरिद गर्नुपरेको बताएका छन् । “धानमा मल राख्ने बेला भयो, डीएपी बजारमा पाइँदैन”, किसान राजकिशोर यादवले भने, “मल आवश्यक हुँदा पाइँदैन, धान पसाएपछि बल्ल मल आउँछ ।” उनले गाउँमा सहकारीले मल वितरण गरे पनि मागअनुसार आपूर्ति गर्न नसकेको बताए ।रासस

गाउँ सहर संवाददाता

तपाईँको मत