स्वास्थ्य

एक मात्रामात्रै लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप अभियान आजदेखि शुभारम्भ

काठमाडौं । स्वास्थ्य मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको जोन्सन एन्ड जोन्सन खोप अभियानको शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान काठमाडौंको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको खोप केन्द्रको अनुगमन गरेका थिए । उनले त्यहाँ आयोजित एक कार्यक्रममा स्वास्थ्यकर्मीहरूलाई खोप हस्तान्तरण गर्दै खोप अभियानको सुरूआत गरेका हुन् ।

सो कार्यक्रममा काठमाडौंका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी सहभागी भएका थिए ।

प्रधानमन्त्री देउवाले खोप सहज रूपमा लगाउने प्रबन्ध मिलाउन निर्देशन गरेको ट्विटरमार्फत् जानकारी दिएका छन् ।

'मेरो सरकारको प्राथमिकता सबैलाई कोरोनाविरूद्धको खोप हो । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेको छु । खोप सहज रूपमा लगाउने प्रबन्ध गर्न निर्देशन पनि गरेको छु,' उनले भनेका छन् ।

यो खोप आजदेखि ६ गतेसम्म काठमाडौंका ४४ वटा केन्द्रबाट दिइनेछ ।

अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप अनुदानमा दिएको थियो ।

एक मात्रामात्रै लगाए पुग्ने खोप आजदेखि ५० देखि ५४ वर्ष उमेर समूहका, अपांगताको 'क' र 'ख' वर्षको परिचयपत्र पाएका, शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरूलाई दिन थालेको हो ।

जोन्सन एण्ड जोन्सनको खोप नेपालमा पहिलो पटक लगाइएको हो ।

जोरपाटीको उक्त खोप केन्द्रमा तिब्बती शरणार्थीले पनि खोप लगाउने जनाइएको छ । देउवाले वीर, पाटन, शिक्षण अस्पताल लगायतका अन्य खोप केन्द्रको समेत निरिक्षण गर्ने भएका छन् ।
मुलुकका ७७ वटै जिल्लामा आजदेखि जोन्सन खोप अभियान सुरु भएको छ ।

गाउँ सहर संवाददाता

Simbhim Simbhim लेख्नुहुन्छ ४ श्रावण, २०७८ १२:५७ pm

तर दक्ष स्वास्थ्य कर्मि नभयरहाेला न कार्डमा छाप छ न खाेपकाे नाम नै

तपाईँको मत