अर्थतन्त्र

रु.३०३ अर्ब २९ करोड तरलता प्रशोचन

काठमाडाैँ । नेपाल राष्ट्र बैंककाे एघार महिनाकाे तथ्यांकनुसार आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा रिभर्स रिपोमार्फत् रु.१०९ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत् रु.१९३ अर्ब ७५ करोड गरी कुल रु.३०३ अर्ब २९ करोड तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत् रु.४८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत रु.३० अर्ब गरी कुल रु.७८ अर्ब तरलता प्रशोचन भएको थियो ।

समीक्षा अवधिमा रिपोमार्फत् रु.५९ अर्ब २९ करोड र स्थायी तरलता सुविधामार्फत रु.१३३ अर्ब २७ करोड गरी कुल रु.१९२ अर्ब ५६ करोड तरलता प्रवाह गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत् रु.११५ अर्ब ८७ करोड र स्थायी तरलता सुविधामार्फत रु.१०३ अर्ब २८ करोड गरी कुल रु.२१९ अर्ब १६ करोड तरलता प्रवाह गरिएको राष्ट्र बैंकले बताएकाे छ ।

बैंककानुसार समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ३ अर्ब १४ करोड खुद खरिद गरी रु.३७१ अर्ब १४ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब ५८ करोड खुद खरिद गरी रु.४१६ अर्ब ७६ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर ४ अर्ब १६ करोड बिक्री गरी रु.४८९ अर्ब ९८ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ४८ करोड बिक्री गरी रु.४०१ अर्ब ३ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको बैंकले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत