खेल

डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकप फुटबलको फाइनलमा

काठमाडाैं । डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

इङ्ग्ल्यान्ड पहिलो पटक युरो कप फुटबलको फाइनलमा पुगेकाे हाे । डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इङ्ग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।

आज बिहान वेम्बली स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले एक गोल गरे । इङ्ग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो । डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरे । डेनमार्कले खेलको ३० औं मिनेटमा डाम्सगार्डले गरेको गोलबाट अग्रता बनाए पनि जोगाउन सकेन ।

खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोन क्येरले  आत्मघाती गोल गरेपछि खेलमा १–१ को बराबरी भयो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय ४ औं मिनेटमा इङ्ग्ल्यान्डका कप्तान केनले गोल गरे ।

इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

पहिलो पटक युरो कपको फाइनलमा पुगेको इङ्ग्ल्यान्ड र सेमिफाइनलमा स्पेनलाई हराएर फाइनलमा पुगेको इटली उपाधिका लागि आइतवार खेल्नेछन् ।

 

गाउँ सहर डेस्क

तपाईँको मत