खेल

युराेकप : इंग्ल्यान्ड र युक्रेन क्वाटरफाइनलमा पुग्दा जर्मनी र स्वीडेन बाहिरिए, अन्तिम आठकाे खेल तालिका

काठमाडाैं । जर्मनीलाई पराजित गर्दै  इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ भने स्विडेनलाई पराजित गर्दै युक्रेन पनि अन्तिम आठमा स्थान सुरक्षित गरेकाे छ । 

मंगलबार राति भएको प्रि-क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । लण्डनस्थित वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल गरे ।

इंग्ल्यान्ड दोस्रो पटक युरोकपको क्वाटरफाइनलमा पुगेको हो । यस जितसँगै इंग्ल्यान्डले ५५ वर्षपछि जर्मनीलाई नकआउट चरणमा पराजित गर्न सफल भएको छ । यस अघि इंग्ल्यान्डले जर्मनीलाई १९६६ को विश्वकप फाइनलमा पराजित गरेको थियो । जर्मनी भने प्रतियोगिताको राउण्ड अफ १६ बाट बाहिरिएको छ । जर्मनी पहिलो पटक मुख्य प्रतियोगिताको राउण्ड अफ १६ बाट बाहिरिएको हो ।

त्यसैगरि, मंगलबार राति नै भएको अर्काे खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान पुगेकाे छ । 

स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे । स्विडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए । रोमान्चक बनेको खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय २० औं मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २-१ को महत्वपूर्ण जित दिलाए । उनले जिन्चेन्कोको पासमा गोल गरे ।

 

युरोकपको क्वाटरफाइनल समीकरण पूरा

युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन्  । तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठुला टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन् ।

अन्तिम आठको खेलहरु शुक्रबारबाट सुरु हुनेछ ।

क्वाटरफाइनल समीकरण :

शुक्रबार राति ९:४५ बजे - स्विट्जरल्यान्डविरुद्ध स्पेन

शुक्रबार राति १२:४५ बजे - बेल्जियमविरुद्ध इटाली

शनिबार राति ९:४५ बजे - चेक रिपब्लिकविरुद्ध डेनमार्क

शनिबार राति १२:४५ बजे - युक्रेनविरुद्ध इंग्ल्यान्ड

गाउँ सहर डेस्क

तपाईँको मत