खेल

युराेकप : डेनमार्क र इटाली क्वाटरफाइनलमा, आज हुने दुई खेलमा कुन कुन टिम भिड्दै ?

काठमाडाैं । डेनमार्क र इटाली १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

शनिबार राति भएको पहिलो प्रि-क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो । नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक एक गोल गरे ।

यस जितसँगै डेनमार्क जारी युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । अब डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ ।

त्यसैगरि शनिबार राति भएको दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको छ । 

इंग्ल्यान्डको वेम्बली स्टेडियममा इटालीलाई जित दिलाउन परिवर्तित खेलाडीद्वय फेडरिको चिसा र माटियो पेसिनाले एक एक गोल गरे । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटालीले दुई गोल गर्यो । अष्ट्रियाले एक गोल फर्कायो ।

यस जितसँगै इटालीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ  । इटालीले ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको हो । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।  सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएपछि इटालीले हार व्यहोरेको छैन ।

यससँगै इटाली क्वाटरफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । अष्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ । इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।

आज दुई खेल

युरोकप फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछन् । युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आइतबार राति दुई खेलहरु हुन लागेको हो ।

आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दा दोस्रो खेलमा बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्ने छन् । हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९:४५ बजे सुरु हुनेछ ।

स्पेनको सेभियामा बेल्जियम र पोर्चुगलबीचको खेल राती १२:४५ बजे सुरु हुनेछ ।

गाउँ सहर डेस्क

तपाईँको मत