दृष्‍टिकोण

‘महामारीमा हतास र आत्तिएको चित्त र मनलाई शान्त गराैँ’

काठमाडाैँ । महामारीबीच दाेस्राे विश्व याेग दिवस परेकाे छ । कोरोना महामारीका बेला मानिसको मन अशान्त, मनमनमा तनाव, अनिश्चय, छटपटी, बेचैनी, डर, त्रास, भय र अशान्ति फैलिइरहेकाे छ । यस्ताे साेचाइले, मानसिक विचलनले शारीरिक स्वास्थ्यमा सोझो हानी पु-याइरहेकै छ । त्यसैले यस्ताे महामारीको त्रास र घरभित्रै थुनिनुपर्दा विचलित मनलाई शान्त पार्न आध्यात्मिक चिन्तकहरु ध्यान र योग सहायक हुनसक्दछ । यसले नयाँ जीवन जिउन सिकाउँछ ।

तनावयुक्त र हतास मनस्थितिमा रहेका मानिसको मनलाई एकाग्र बनाई जीवन जिउने कला सिकाउने माध्यम विपश्यना भएको बौद्ध भिक्षुहरु बताउँछन् । मानिसलाई दास बनाउने चञ्चल मनलाई वशमा राख्न विपश्यना ध्यान गर्न आवश्यक भएको उनीहरुको अनुभव र सल्लाह दुवै छ । कोरोना र बन्दाबन्दी जित्ने एक माध्यम ध्यान हाे । यस्तो समयमा ध्यान गरेर हतास र आत्तिएको चित्त र मनलाई शान्त गर्न सकिन्छ । ध्यान आत्मशुद्धिको साधना–विधि हो । यसबाट शारीरिक तथा मानसिक रोगबाट मुक्त हुन सकिन्छ । यो अन्तरदृष्टिले आफैं लाई खोज्ने कला हो ।

बन्दाबन्दीमा आत्मा र शरीरलाई नियन्त्रण गर्नका लागि योग र साधना प्रत्येक मानिसले गर्न आवश्यक छ । चञ्चले मनलाई योग र साधनाले मात्र बाँध्न सक्छ । तपाईंमा श्रद्धाभाव पैदा हुन्छ । मनमा सकारात्मक उर्जा जाग्छ । भय र बेचैनी हट्छ । यसले तपाईंको मनलाई स्थीर र शान्त बनाउँछ । सकारात्मक भावनाको विकास गराउँछ । सकारात्मक उर्जाले नै व्यक्तिलाई दीर्घजीवी बनाउँछ । शरीरमा हल्कापन महसुष हुन्छ । भय, तनाव, असुरक्षाको भाव हट्छ । जब हामी सकारात्मक मनले कुनै कामना गर्छौं, हामीमा एक किसिमको शक्ति मिल्छ । मनोवल उच्च रह्यो भने सानोतिनो संकटले विचलित बनाउँदैन ।

कोरोना, लकडाउन, आर्थिक मन्दी, बेरोजगारी आदिले मान्छेमा चरम निरासा, शंका, भय, अनिश्चितता, क्रोध जस्ता मानसिक समस्या उत्पन्न गरिदिएको छ । चिकित्सा विज्ञान भन्छ, भय र क्रोधले हाम्रो प्रतिरक्षा प्रणालीलाई प्रभावित बनाउँछ । मनमनमा तनाव, अनिश्चय, छटपटी, बेचैनी, डर, त्रास, भय र अशान्तिको राज फैलिएको छ । यो स्थिति सामना गर्न हाम्रो मन पनि सन्तुलित, स्थिर, शान्त र स्वस्थ राख्‍न आवश्यक हुन्छ ।

योगले शारीरिक स्वास्थ्यलाई बलियो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। ध्यानले मानसिक शान्ति दिन्छ । तनावलाई कम गर्छ। नेपालमै जन्मेर विश्वलाई अहिंसा शान्तिको उज्यालो प्रकाश दिनुभएका भगवान गौतम बुद्धले आविष्कार गर्नु भएको विपश्यना ध्यान रोग, भोक, भौतिक सुख र तनावमा परेका मान्छेलाई मुक्ति दिलाउने साधना बन्न सक्छ ।

शारीरिक बल, स्वासमा नियन्त्रण, सकारात्मक ऊर्जा र वैचारिक उत्तमता केवल योग र ध्यानबाट मात्र प्राप्त गर्न सकिने कुरा हुन् । आफ्नो जीवनमा आइलाग्ने हजारौँ तनाव र चिन्तासँग लड्नका लागि योग र ध्यान प्रमुख साधनाका रूपमा हामीले प्रयोग गर्न सक्छौँ ।

योग र ध्यानका फाइदा

क्यान्सरको जोखिम कम हुन्छ

विश्वमा अहिले मानव शरीरलाई बुझ्नको लागि नयाँ अनुसन्धानहरू भइरहेका छन् । हालसालै गरिएको एक अध्ययनका अनुसार योगा र ध्यानले क्यान्सरको जोखिमलाई सजिलैसँग कम गर्न सकिने पत्ता लागेको छ । मानिस योगा र ध्यानको माध्यमले आफ्नो दिमाग र शरीरमाथि नियन्त्रण गर्न सक्छन् । ध्यान गर्ने मानिसहरुमा इन्फ्लेमेसन धेरै हुने मोलिक्युलको उत्पादन कम हुन्छ । र, इन्फ्लेमेसन कम भएमा क्यान्सरको जोखिम पनि कम हुन्छ ।

मानसिक स्वास्थ्य राम्रो हुन्छ

आजको दिनमा कैयौँ मानिसहरु योगा र ध्यानको फाइदा उठाइरहेका छन् । र, यसको स्वास्थ्य फाइदाहरुमा रमाइरहेका छन् । यो कुरा धेरै कम मानिसहरुलाई मात्रै थाहा छ की यसको फाइदा हाम्रो शरीरमा मोलिक्युलर लेभलबाट हुन थाल्छ । अर्थात योगा र ध्यानले शरीरको जेनेटिक कोड पनि परिवर्तन गर्न सकिन्छ । यसको एक फाइदा मानसिक स्वास्थ्यमा सुधार पनि हो । ध्यान र योगाले स्मरणशक्ति तिक्ष्ण हुन्छ, तपाईं सहि किसिमले कुनै चीजमा केन्दि्रत हुन पाउनुहुन्छ र एकाग्रता पनि बढ्छ ।

तनाव कम हुन्छ

आजभोली हामीले कैयौं यस्ता रोगहरुको सामना गर्नुपरेको छ जसको बारेमा हामीले कहिल्यै पनि सुनेका थिएनौँ । यसको सबैभन्दा ठूलो कारण हो हाम्रो जीवनशैली र चौबिसै घन्टा तनावमा रहने दैनिकी ।

यदि सही ढंगले योगा र ध्यान गर्ने हो भने हाम्रो जिन्दगीबाट तनाव भाग्छ । अर्थात यो एक यस्तो एन्टिडिपिरसेन्ट हो जसले फाइदा नै फाइदा गर्छ । ध्यान र योगको प्रक्रियामा हामीले लामो गहिरो सास लिन्छौँ र साथै शरीरको स्लो मुभमेन्ट पनि हुन्छ ।

खानपानमा सुधार

अध्ययनबाट योग र मेडिटेसन प्राक्टिसले हाम्रो खानपानको बानी पनि सुधार्ने तथ्य पनि अगाडि आएको छ । नियमित योगा गर्ने बानीले हाम्रो रुची स्वस्थ खानाको तर्फ बढ्न लाग्छ । आहार सुधार हुन्छ मानिस खुसी हुन थाल्छ । यसले आत्मविश्वास पनि बढ्छ र आफ्नो शरीरको ख्याल राख्ने इच्छा पनि बढ्छ ।

शरीरको लचकता बढ्छ

बाहिर क्रियाकलाप नगरिकन दिनभर कम्प्युटरको अगाडि बस्नाले शरीर कैयौं रोगहरुबाट ग्रस्त हुन सक्छ । कम उमेरमै शरीरमा कैयौं किसिमका दुखाईहरु सुरु हुन्छन् । हामीलाई व्यस्तताको कारण व्यायाम गर्ने समय पनि मिल्दैन । तर, यदि थोरै समय मिलाए। हामीले आफ्नो शरीरमा ध्यान दिने हो भने यसको फाइदा हामीलाई नै हुन्छ । दैनिक थोरै समयसम्म योगा र ध्यान गर्नाले शरीरको लचकतामात्रै बढ्दैन बरु कार्यालयको काम गर्ने उत्साह र जाँगर पनि बढ्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत