जीवनशैली

फलफूलकाे राजा आँप भनेर कतै विष त खाँदै हुनुहुन्न ? किन्नुअघि यी कुरामा ध्यान दिनुहाेस्

काठमाडाैं । आँपलाई फलफूलहरु मध्ये राजा फलका रुपमा लिइन्छ । अहिले गर्मीको मौसम, आँप पाइने समय हो । तपाईँ आँप खान मन पराउनु हुन्छ भने यो समयमा पक्कैपनि खुशी हुनुहुन्छ होला । तर स्वास्थ्यलाई हानि–नोक्सानी पुर्‍याउने कार्बाइड प्रयोग गरेर पकाइएको आँप रौतहटका बजारमा निर्बाध बिक्री भइरहेको छ । बगैँचामा आँप ढिलो पाक्ने भएपछि व्यापारीले काँचो टिपेर पकाउन औषधि प्रयोग गर्छन् । यसरी पकाइएको आँप हेर्दै खान मनलाग्ने खालको देखिन्छ ।

बजारमा एक महिनादेखि औषधि प्रयोग गरिएको आँप बिक्री भइरहेको छ । बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर बजारमा बिक्री गर्न थालेका हुन् । आँप हेर्दा बोटमै पाकेकोजस्तै देखिन्छ । यो खाएपछि मात्र औषधि प्रयोग भएको भन्ने थाहा हुन्छ । खाएको केही समयमा मुख चिलाउने र कोक्याउने गर्छ ।

आँप हाम्रो शरीरका लागि निकै लाभदायक हुँदाहुँदै पनि यसमा प्रयोग हुने विषाक्त तत्वप्रति उपभोक्ता सचेत हुनुपर्छ । खासगरी आँप पकाउनका लागि ‘कार्वाइड’ नामक रसायनको अधिक प्रयोगका कारण यो स्वास्थ्यका लागि हानीकारक मानिएको हो ।कार्वाइड मा आर्सनिक तथा फोस्फोरसको मात्रा बढी हुन्छ । यसले शरीरमा अल्पकालीन तथा दिर्घकलीन असर पुर्‍याउँछ । अल्पकालीन समस्यामा वान्ता हुने, झाडापखाला, पेटको जलन, अनिद्रा आदी पर्दछन् । त्यसैगरी दीर्घकालीन समस्यामा पेटको अल्सर, बिर्सने समस्या, क्यान्सर, घाँटीको समस्या इत्यादी पर्दछन

आँप कसरी छान्ने ?

यस्ता समस्याका कारण हिजोआज आँप पारखीहरुले आँप छान्दा होस पुर्‍याउनुपर्ने देखिन्छ । अहिले बजारमा पाइने आँपमध्ये कुन विषादीयुक्त छ र स्वाभाविक तरीकाले पाकेको हो भनेर जान्न निकै आवश्यक छ ।

कालो-कालो दाग लागेको आँप नकिनेको खण्डमा मात्र पनि विषादीयुक्त आँपबाट बच्न सकिन्छ । उनका अनुसार प्राकृतिक रुपमै पाकेको आँप सबैतिर एकनासको हुन्छ । रसायनरहित आँप भेट्नोबाट पाक्दै अर्थात् पहेलो हुँदै जान्छ । यस्ता आप थिच्नासाथ लचिलो हुन्छ र एकनासले दबिन्छ ।

जबकी रसायन तथा विषाक्तयुक्त आँपमा जताततै कालो-कालो थोप्ला देखिन्छ । यस्ता आँप कतै पुरै पाकेको तथा कतै काँचै रहन्छ । हरियो भए पनि सबैतिर हरियो रहँदैन । पहेँलो भएको ठाउँ थिच्नासाथ पिचिक्कै जान्छ । कुनै-कुनै आँप त एकातिर हरियो हुन्छ भने अर्को छेउ कुहिनै लागिसकेको हुन्छ ।

अझ अधिक मात्रामा औषधि प्रयोग गरिएको आँप हरियो हुँदै किन्दा समेत किनेको एक/दुई दिनभित्रै कुहिन सुरु गर्छ । यस्ता आँपको गन्ध पनि कडा हुन्छ । कसै कसैलाई यसको कडा गन्धले वाकवाकी नै लाग्न थाल्छ । विभिन्न लक्षणका बाबजुद यस्ता आँप खानाले घाँटी चिलाउने, कोक्याउने लगायतका समस्या देखा पर्छन् ।

बजारका आँप कसरी खाने ?

यसबाट बच्न सर्वप्रथम त त्यस्ता आप नकिन्नु नै बुद्धिमानी हुन्छ । किनिहालेको खण्डमा त्यसलाई रातभरी भिजाएर खाएमा त्यसमा रहेका विषाक्त नष्ट हुन्छ । त्यस्तै भेनेगर, कागति अथवा चुक जस्ता अमिलो पदार्थमा २/३ घण्टासम्म डुवाएर खाएमा पनि त्यसमा भएका विष नष्ट हुन्छ ।

त्यसैगरी अन्य फलफुल तथा तरकारीलाई पनि यसैगरी जाँचेर खाएमा त्यसमा भएका विषाक्त तत्व नष्ट हुन्छ । कुनै पनि फलफुललाई रातभरी पानीमा भिजाउँदा त्यसमा भएका भिटामिन, प्रोटिन लगायतका पोषणयुक्त तत्व नष्ट हुनसक्ने आशंका धेरैमा हुन सक्छ । तर, कुनै पनि फलफुललाई भिजाउँदा वा पानीमा केही समयका लागि डुवाउँदा पोषकतत्व नष्ट हुदैन ।सिंगै फलफुल तथा तरकारी भएमा त्यसलाई रातभरी पानीमा डुबाएर खानु उपयुक्त हुन्छ भने काटेको फलफुल तथा तरकारीलाई २/३ घण्टा पानीमा डुवाएर खाँदा फाइदाजनक हुन्छ ।

आँप स्वादिलो त हुन्छ नै यसबाट शरीरलाई आवश्यक पोषक तत्व पनि मिल्छ । जस्तो कि, भिटामिन ए, बिटामिन बि ।

आँपमा खानुका फाइदा यस्ता छन् :

१. क्यान्सरबाट बचाउछ : आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ।

२. दृष्टिशक्ति बढाउछ : यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ।

३. फाइबर र भिटामिन सिको भण्डार : आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ।

४. शरीरमा अल्कालाइनलाई सन्तुलित पार्छ : यसले मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ, किनभने यसमा मालिक एसिड, टार्टारिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड हुन्छ।

५. पाचन प्रक्रिया राम्रो बनाउछ  : मेवाले जस्तै, आँपले पनि पाचन शक्तिलाई राम्रो बनाउछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ। फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ।

६. रोगप्रतिरोधी : आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ।

७. एन्टिअक्सिडेन्टयुक्त : आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनजीर्वन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ। यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउछ।

८. प्रजनन क्षमतामा वृद्धि गर्छ : आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ।

९. खनिजयुक्त : आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ। यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन्।

१० यौन क्षमता बढाउछ : आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ। यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ। आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउछ। होमोसिस्टाइन रक्त नलीलाई अवरुद्ध गर्न सक्छ र हृदयाघात हुने सम्भावना हुन्छ।

११. छालामा चमक ल्याउछ : आँपले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ। आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ।

१२. ब्ल्याकहेड (काला रौं) को उपचार : आँपले शरीरमा अंगमा भएका काला रौंका अंश हटाउन पनि मद्दत गर्छ। यसका लागि एक चम्चा आँपको गुदी, आधा चम्चा दुध या मह मिसाएर मिश्रण तयार पार्नुपर्छ। यसलाई गोलो तरिकाले संबन्धित ठाउँमा लगाउनुपर्छ। यसले मरेको छाला तथा नउम्रिएका रौं हटाई अनुहारमा चमक ल्याउछ।

१३. एन्टि एजिङ फाइदा : यसले क्यान्सर गराउन सक्ने धुलोका खतरनाक कणबाट छालालाई जोगाउछ। यसमा भएका भिटाभिन सिले डण्डीफोर आउन दिदैंन। यसलाई प्रत्यक्ष लगाउने हो भने प्राकृतिक मोस्चराइजरको काम गर्छ। यस्तै, यसलाई फेसवासको रूपमा पनि प्रयोग गर्न सकिन्छ। एकचम्चा आँपको गुदी र बदामको पाउडरमा एक टेबलचम्चा दुध मिसाएर पेष्ट बनाउनुस् र अनुहारमा लगाउनुस्। २० मिनेटपछि  धोएपछि यसले अनुहारमा चमक ल्याउछ।

१४. कपालका लागि पनि लाभदायी : भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिलाई पनि लाभदायी हुन्छ। यसले कन्डिसनरको पनि काम गर्छ। यसमा हुने भिटामिन एले चाँया हटाउछ र कपालमा चमक ल्याउछ।

गाउँ सहर डेस्क

तपाईँको मत