खेल

युराेकप : दुई खेल बराबरी, जर्मनीको सानदार जित, आज खेलहरु हुँदै

काठमाडाैं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ । हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो ।

पुस्कास एरिनामा एन्टोनियो ग्रीजम्यानले एक गोल गरेपछि फ्रान्स हारबाट जोगिएको हो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । रोलान्ड सालियाको पासमा उनले उत्कृष्ट गोल गरेका हुन् । तर, दोस्रो हाफमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा फर्काए । 

यस बराबरीसँगै समूह 'एफ' को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । साविक विजेता समेत रहेको फ्रान्स समूहको शीर्ष स्थानमा समेत उक्लिएको छ । हंगेरीले भने पहिलो एक अंक जोडेको छ । हंगेरी १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।

पेनाल्टीमा चुक्दा पोल्याण्डसँग स्पेनको बराबरी

अर्काे खेलमा स्पेन बराबरीमा रोकिएको छ । समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको हो ।

सेभियामा सुरुवाती अग्रता जोगाउन र पेनाल्टीमा गोल गर्न नसक्दा स्पेनले अंक बाड्नु परेको हो । खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, खेलको ५४ औं मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए । उनले कामीलको पासमा हेडरमार्फत उत्कृष्ट गोल गरेका हुन् ।

यस्तै खेलको ५८ औं मिनेटमा स्पेनले पेनाल्टीमा गोल गर्ने अवसर पायो । तर, जेरार्ड मोरेनोले गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो ।

यससँगै समूह 'ई’ को स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ । समूहको तेस्रो स्थानमा रहेको स्पेनले २ खेलमा २ अंक जोडेको छ । पोल्याण्डको भने यो पहिलो अंक हो । पोल्याण्ड २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।

पोर्चुगलमाथि जर्मनीको सानदार जित

जर्मनीले १६ औं संस्करणको युरोकप फुटबलमा साविक विजेता पोर्चुगलमाथि सानदार जित निकालेको छ । म्युनिखमा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

एलिनाज स्टेडियममा जर्मनीलाई जित दिलाउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक एक गोल गरे । जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो । पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरे । यस्तै पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक एक गोल फर्काए ।

समूह 'एफ' को जर्मनीको यो पहिलो जित हो । दोस्रो स्थानमा रहेको जर्मनीले २ खेलमा ३ अंक जोडेको छ । समूहको तेस्रो स्थानको पोर्चुगलले २ खेलमा ३ अंक जोडेको छ ।

आज खेलहरु हुँदै

युरोकप फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह 'ए' को दुई खेल हुनेछ । जसमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ । 

रोममा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । इटाली र वेल्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

गाउँ सहर डेस्क

तपाईँको मत