खेल

युराेकप : आज तीन खेलहरु हुँदै, हिजाेकाे खेलमा दुई बराबरी, स्लोभाकियामाथि स्विडेनकाे जित

काठमाडाैं । १६ औं संस्करणको युरोकप फुटबलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ । वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो ।

यस बराबरीसँगै समूह 'डी’ को इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ । स्कटल्याण्डको भने यो पहिलो अंक हो । स्कटल्याण्डले २ खेलमा १ अंक जोडेको छ ।

त्यसैगरि, 

दोस्रो खेलमा चेक रिपब्लिकसँग बराबरी खेल्दै अंक बाडेको छ । हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको ३७ औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए । क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि भीएआरको सहायताबाट चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएको थियो । जसमा उनले सहजै गोल गरे ।

तर, खेलको ४७ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई हारबाट जोगाए । उनले आन्द्रे कर्मारीचको पासमा गोल गरेका हुन् ।

यस बराबरीसँगै समूह 'डी’ मा रहेको क्रोएसियाले २ खेलमा १ अंक जोडेको छ ।

क्रोएसिया तालिकाको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो । चेक रिपब्लिकले २ खेलमा ४ अंक जोडेको छ । चेक रिपब्लिक शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २–० ले हराएको थियो ।  

समूह चरणको दोस्रो खेलमा शुक्रबार स्लोभाकियालाई १-० गोल अन्तरले पराजित गर्दै स्विडेनले पहिलो जित निकालेको छ । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका हुन् ।

यस जितसँगै समूह 'ई' मा रहेको स्विडेनले २ खेलमा ४ अंक जोडेको छ । स्लोभाकियाले २ खेलमा ३ अंक जोडेको छ ।

आज तीन ठूला खेल

युरोकप फुटबलमा आज (शनिबार) तीन खेलहरु हुँदैछन् ।

युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । समूह 'एफ' मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

आज हुने तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र पोल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।-एजेन्सी 

 

गाउँ सहर डेस्क

तपाईँको मत