राजनीति

ओली-भण्डारी कदम मानवीय संवेदनाहीन क्रूरता

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन तथा नयाँ निर्वाचनको घोषणाबारे विवेकशील साझा पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले निम्न निष्कर्ष निकालेको छ ।

उसले 'संसद् विघटनको कदम संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन सत्ता संचालन गर्ने ओली र भण्डारीको पुरानै आकाङ्क्षाको सुनियोजित निरन्तरता हो' भनेकाे छ ।

सर्वोच्च अदालतले संसद् विघटनबारे यसअघि जस्तै यस पटक पनि संवैधानिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा फैसला गर्नेछ भन्ने विवेकशील साझा पार्टीको विश्वास छ भन्दै उसले कोभिड-१९ ले मुलुक आक्रान्त भएको बेला औषधी, अक्सिजन, अस्पताल-शैया नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन क्रूरता हो भनेकाे छ ।

विवेकशील साझा पार्टीले विज्ञप्तिमा भनेकाे छ, "अहिलेको अवस्थामा कोरोना विरुद्धको खोप सरकारको पहिलो प्राथमिकता हुनुपर्छ भन्नेमा प्रष्ट छ । मुलुकमा राजनीतिक अराजकता र विकृति यो हदसम्म मौलाउनुमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी मात्र होइन प्रमुख प्रतिपक्षीसहित संसद्का दलहरू पनि त्यत्तिकै जिम्मेवार छन् । परम्परागत राजनीतिक दलहरूको सामूहिक विफलताको चर्को मूल्य आज मुलुकले चुकाउनु परिरहेको छ ।"

साथै उसले प्रधानमन्त्री र राष्ट्रपतिले साँठगाँठपूर्ण ढङ्गबाट लोकतन्त्रविरुद्ध गरिरहेको निरन्तर प्रहारको एकबद्ध भएर विरोध गर्न सम्पूर्ण नागरिक तथा राजनीतिक दलहरूलाई आह्वान गरेकाे पनि छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत