विश्व

फाइजर र अक्सफोर्ड–एस्ट्राजेनेका खोपले राेक्ला संक्रामक भेरियन्ट !

काठमाडाैँ । फाइजर र अक्सफोर्ड–एस्ट्राजेनेकाकाे कोरोना भाइरसविरुद्धका खोप भारतमा पहिलोपटक पुष्टि भएको संक्रामक भेरियन्टविरुद्ध प्रभावकारी देखिएको छ । याेसँगै धेरैकाे आशा साेमाथि चुलिएकाे छ ।

भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टमा खोप प्रभावकारी छ कि छैन भन्ने हेर्नका लागि गरिएको अध्ययनमा खोप प्रभावकारी देखिएसँगै आशा पलाएको हो ।

खोपको दुई मात्रा नयाँ भेरियन्टमा पनि प्रभावकारी देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

खोपको दुई मात्रा लगाएपछिको प्रभावकारिता बेलायतमा देखिएको कोरोना भाइरसको भेरियन्टमा जस्तै भारतमा देखिएको भेरियन्टमा पनि पाइएको बेलायती स्वास्थ्य अधिकारीले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

पब्लिक हेल्थ इंग्ल्याण्डले गरेको अध्ययनमा फाइजर–बायोएनटेकको खोप भारतमा देखिएको कोरोना भाइरसको बी १.६१७.२ भेरियन्टमा दोस्रो मात्रा लगाएको दुई हप्तापछि लक्षणसहितको संक्रमणविरुद्ध ८८ प्रतिशत प्रभावकारिता देखिएको हो । बेलायतमा देखिएको बी.१.१.७ भेरियन्टविरुद्ध यो प्रभावकारिता ९३ प्रतिशत थियो ।

यस्तै एस्ट्राजेनेका खोपको दुई मात्रा भारतमा देखिएको भेरियन्टबाट हुने लक्षणसहितको संक्रमणविरुद्ध ६० प्रतिशत प्रभावकारी देखिएको छ । यो प्रभावकारिता बेलायतमा देखिएको भेरियन्टमा ६६ प्रतिशत रहेको पिएचइले जनाएको छ ।

नयाँ भेरियन्टविरुद्ध खोप प्रभावकारी देखिनु निकै खुशीको कुरा रहेको बेलायती स्वास्थ्य मन्त्री म्याट हान्ककले बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत