गाउँ सहर

नेपाल-खनालसहित ११ नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडाैं । सत्तारुढ दल नेकपा (एमाले) ले पार्टीको नीति र हितविरुद्ध विपक्षी गठबन्धनसँग सहकार्य गरेका नेताहरुलाई कारवाही प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले पहिलो चरणमा ११ जना नेताहरुलाई स्पष्टीकरणबाट कारवाही प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री पदबाट हटाउन विपक्षी गठबन्धनसँग मिलेर हस्ताक्षर गरेको आरोपमा उनीहरूलाई स्पष्टीकरण सोधिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

कारवाहीस्वरुप स्पष्टीकरण सोधिएकाहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्का रहेका छन् ।

यसअघि शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनसँग मिलेर नेपाल-खनाल पक्षका सांसद हस्ताक्षरसहित शितलनिवास पुगेका थिए। यसैगरी प्रधानमन्त्रीले पनि पद मागदाबी पेश गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत