राजनीति

समय छोटिँदै जाँदा दाैडादाैडमा नेताहरू

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको 'अनुरोध'मा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार ५ बजेसम्मको समय दिएर नयाँ प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेसँगै राजनीतिक सरगर्मी बढेको छ । ताेकिएकाे समयसीमा अब केही घण्टा बाँकी छ । 

यतिबेला सत्तासिन र प्रतिपक्षी पार्टीहरू दाैडधुपमा छन् । 

 प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाका अनुसार शुक्रबार साढे १२ बजे पत्रकार सम्मेलन हुँदैछ ।समसामयिक विषयमा नै पत्रकार सम्मेलन हुन लागेको थापाले बताएका छन् ।

नयाँ सरकार गठनका विकल्पबारे सबै पक्षसँग छलफल गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय लगत्तै दलका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुढानिलकण्ठ पुगेसँगै एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पनि छलफलका लागि पुगेका छन् । जसपा नेता उपेन्द्र यादव पनि देउवासँग छलफलका लागि बुढानिलकण्ठ पुग्दैछन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिएको निष्कर्ष निकालेको छ । र, सबै दलसँग छलफल गरेर यो प्रवत्तिलाई रोक्न सबै विकल्पमा जाने निर्णय गरेको छ ।

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु पनि संविधानको मर्म र भावना विपरीत भएको कांग्रेसको ठहर छ ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरुको बैठक सिंहदरबारमा भइरहेकाे छ । वैकल्पिक सरकारको प्रधानमन्त्रीका रुपमा अध्यक्ष महन्थ ठाकुरको नाम चर्चामा छ । स्वयं जसपाका उपेन्द्र यादव पक्षका नेताहरुले ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् भने नेपाली कांग्रेस र माओवादी केन्द्र पनि त्यसमा सकारात्मक देखिएको छ ।

तर स्वयं ठाकुरले भने रुचि देखाएका छैनन् । शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बाहिर चर्चा भएपनि आफूलाई कुनै प्रस्ताव नआएको बताएका छन् ।

विवेकशील साझा पार्टीले राष्ट्रपतिमाथि महाभियोग लगाउन र नयाँ सरकार बनाउन आह्वान गरेको छ ।

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत