राजनीति

बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा काे काे अनुपस्थित भए ? मतगणना साढे चारबाट

काठमाडाैं । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनअन्तर्गत बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रियसभा सदस्यको लागि भएको मतदान सम्पन्न भएको छ ।

हेटौँडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित मतदान स्थलमा विहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार ३३८ जनाले मतदान गरेका छन् ।

बागमती प्रदेशको प्रदेश सभाका ११० सदस्य र ११९ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख गरी २३८ जना मतदाता रहेका थिए । प्रदेश सभाका र स्थानीय तहका गरी ३४८ जना मतदाता रहेकोमा प्रदेश सभाका सदस्य पशुपति चौलागाईँको कोरोना सङ्क्रमणबाट निधन भएपछि ३४७ मतदाता रहेका थिए ।

उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये १० जना अनुपस्थित रहेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ जना मतदातामध्ये ३३७ जनाले मात्रै मतदान गरेका हुन् ।

अनुपस्थित रहनेमा ४ प्रदेशसभा सदस्य र ६ स्थानीय तहका प्रतिनिधि छन् । अनुपस्थित ४ प्रदेशसभा सदस्यमा विवेकशील साझाका तीनजना हुन् । सो पार्टीले मतदानमा सहभागी नहुने संस्थागत निर्णय गरेको थियो । यस्तै प्रदेशसभा सदस्य हिमाली गोले पनि अनुपस्थित रहिन् । उनी नेकपा माओवादी केन्द्रकी हुन् ।

स्थानीय तहतर्फबाट हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र उपाध्यक्ष कोपिला पण्डित अनुपस्थित रहे । उनीहरु काँग्रेसका हुन् । यस्तै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति पनि अनुपस्थित रहे । उनी नेमकिपाका हुन् ।

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत