गाउँ सहर

महामारीमा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएकाे भन्दै नेविसंघकाे आपत्ति

काठमाडाैं । साेमबारदेखि लागू हुने गरि गरिएकाे पेट्रोलियम पदार्थकाे मूल्यबृद्धिप्रति नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कडा आपत्ति जनाएको छ ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले प्रेस बिज्ञप्ति जारी गर्दै काेराेनाकाे महामारीमा पनि अत्यावश्यकीय उपभोग्य बस्तु पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गर्ने सरकारको निर्णय निन्दनीय भएकाे भन्दै सरकारप्रति राेष प्रकट गरेकाे छ । 

‘बिरामीले अक्सिजनसमेत नपाएर ज्यान गुमाइरहेकाे बेला नागरिककाे कष्टदायी जीवन बेहाेरिरहँदा पनि सामान्य मानवतासमेत ख्याल नगरि आम नेपालीको ढाड सेक्ने र चुलो बन्द गराउने नियतबाट उद्यत छ’ महामन्त्री तिमल्सिनाले विज्ञप्तिमा भनिएकाे छ । 

एकपछि अर्को जनबिरोधी गतिविधिमा लिप्त भइ भ्रष्ट र प्रतिगामी सरकारको जनघाति कदम र निर्णयका बिरुद्ध शसक्त प्रतिरोध गर्न पनि उनले सबैमा अपिल गरेका छन् । उनले पेट्रोलियम पदार्थमा भएकाे मूल्यबृद्धि तुरून्त फिर्ता लिन पनि माग गरेका छन् ।

महामन्त्री तिमल्सिनाले रोजगार, आय-आम्दानी र अवसर गुमेको स्थितिले आफू र आफ्नालाई बचाउने कसरी भन्ने  संकटपूर्ण अवस्थामा नागरिक रहेका बेला पनि अनेक बहानामा  सरकारले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णयको घोर भर्सना गरेका छन् ।

उनले मूल्य बढाउने भन्दा पनि अन्य विकल्पकाे खाेजी गर्न पनि आग्रह गरेका छन् । 

 

आइतवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको छ ।

अब प्रतिलिटर पेट्रोल एक सय २३,  डिजल/मट्टीतेल एक सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत