स्वास्थ्य

नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको छ - सहप्रवक्ता डा. अधिकारी

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समीर कुमार अधिकारीले नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको बताएका छन् ।

खोप लगाउने क्रम जारी रहेको उनले बताउँदै नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको पनि जानकारी दिए ।

सह–प्रवक्ता अधिकारीले हालसम्म भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्तरगत ३ लाख ४८ हजार डोज प्राप्त भएको र नेपाली सेनालाई १ लाख डोज प्राप्त भएको गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको उनले जानकारी दिए ।

त्यस्तै चीनबाट ८ लाख डोज भेरोसेल खोप प्राप्त भई जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको उनको भनाई छ । त्यसमध्ये २५ लाख डोज खोप लगाईसकिएको र बाँकी रहेको खोप लगाउने क्रम जारी रहेको डा‍. अधिकारीले बताए ।

७ लाखको हाराहारीमा खोप मौज्दात रहेको भए पनि भेरोसेल खोप लगाउन शुरु गरिएको उनको भनाइ छ । भारतसँग २० लाख डोज खोप खरिद गरेको भए पनि १० लाख मात्रै आएको र १० लाख डोज आउन बाँकी रहेको उनले जानकारी दिए ।

स्पुतनिक भि खोप लगायतका अन्य खोपहरु ल्याउने सम्बन्धमा समन्वय तथा कुराकानीहरु भइरहेको पनि उनले बताए । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढीरहेको सम्बन्धमा देशभरी ९० वटा प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको उनले जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत