अर्थतन्त्र

एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन सकिने 

काठमाडाैँ । डिजिटल फष्टको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले एन आई सी एशिया बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई ग्राहकहरू सामुन्ने आफ्नो मोबाइल बैंकिङ्ग तथा आइसर्भ मार्फत अघि बढाईरहेको छ ।

सेल्फ हेल्प बैंकिङ्गको अवधारणा अनुरुप नै यस बैंकले आफ्ना ग्राहकहरूको लागि एन आई सी एशिया मोबैंक मार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको छ ।

यो सेवा अन्तर्गत अब ग्राहहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्नो एन आई सी एशिया मोबैंक बाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् । ग्राहकहरूले आफ्नो मोबाइल प्रयोग गरी बैंकको एन आई सी एशिया मोबैंकभित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन् । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउण्टरहरूका साथै १० हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

यस कोरोना भाइरसको महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन सकिने सुविधाले ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा अमूल्य समयको बचत भई महामारीका बीच भौतिक दुरी कायम गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत