राजनीति

नयाँ सरकार गठनको लागि ताेकिएकाे समयावधि घर्कँदै, देउवा सरकार बन्न माधव नेपालकै भर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । सोमबार संविधानको धारा ७६ को उपधारा (२) नयाँ सरकार गठन गर्न आव्हान गरेको समयसीमा आज राति ९ बजे सकिन लागेको होर दलहरुको नयाँ सरकार गठन गर्न दौडधुप जारी  छ । समय घर्कँदै जाँदा दलहरूबीच छलफल  पनि तीब्र देखिएकाे छ ।  

सत्ता समीकरणमा निर्णायक जस्तो देखिएको जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार गठनको विषयमा दुई धारमा बिभाजित भएपछि नयाँ सरकारको नेतृत्व गर्न कस्सिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अप्ठ्यारोमा परेको छ । त्यसैले कांग्रेस अब एमालेको माधव नेपाल पक्षसँग सहकार्यको हात बढाउने रणनीतिमा जुटेको छ ।

३२ जना सांसद रहेको जनता समाजवादी पार्टी दुई खेमामा विभाजित हुँदा गठबन्धनको नयाँ सरकार बन्न सम्भावना कमजाेर देखिएकाे छ तर बहुमतको आधारमा नयाँ सरकार गठन हुने एउटा सम्भावना एमालेको विभाजन हो । ओली नेतृत्वको सरकारलाई विस्थापन गर्नुपर्ने पक्षमा उभिएका माधव नेपाल पक्षका सांसदहरुले राजीनामा दिए भने त्यो सम्भावना रहन्छ ।

प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्न एमालेको नेपाल पक्ष पनि निर्णायक भूमिकामा छ । नेपाल पक्षका सांसदहरुले राजीनामा दिएमा वैकल्पिक सरकार बन्ने सम्भावना बन्ने देखिन्छ । तर यसअघि सोमबार नै राजीनामा दिने भनिएको नेपाल पक्षमा पनि राजीनामा दिनेमा सांसदहरु हिच्किचाई रहेको  छ ।

नेपाल पक्षका प्रमुख नेताहरु नै राजीनामा दिन नहुने बताएपछि नेपाल पक्षको सामुहिक राजीनामा आउनेमा पनि अलमल भएको छ । नेपाल पक्षका प्रमुख नेताहरु गोकर्ण विष्ट, योगेश भट्टराई लगायतका नेताहरु राजीनामा गर्नु हुदैन भन्ने पक्षमा रहेका छन् । तर निर्णायक लडाइमा रहेको नेपाल पक्षले राजीनामा गर्ने नगर्ने भन्नेमै अब सत्ताको समीकरण कस्तो बन्छ भन्ने टुंगो लाग्ने देखिन्छ । नेपाल पक्षमा राजीनामा दिने विषयमा विवाद छ भन्ने कुरा नेता भीम रावलले सामाजिक संजालमा टिप्पणी गर्दै ओलीलाई हटाउन राजीनामा गरेर नै अगाडी बढ्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा हाल कायम संख्या २७१ हो । नेपाल पक्षका २८ सांसद छन् । उनीहरुले राजीनामा दिएमा संसदमा तत्काल कायम संख्या २४३ हुन्छ । १२१ मत पाएमा बहुमत पुग्छ र विपक्षी गठबन्धनको नयाँ सरकार बन्न सक्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत