स्वास्थ्य

अक्सिजन ग्याँस सिलिण्डर संकलन गरी कम्पनीहरुलाई हस्तान्तरण

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अस्पतालहरुमा अक्सिजन सिलिण्डरहरुको अभाव नहोस भन्ने उद्देश्यका साथ अक्सिजन ग्याँस सिलिण्डर संकलन गरी कम्पनीहरुलाई हस्तान्तरण गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा रहेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको संक्रमण नेपालमा पनि दिनप्रतिदिन बढ्दै गईरहेको अवस्थामा उपचारको लागि अत्यावश्यक मानिने अक्सिजन ग्यासको अभाव समेत देखा पर्न थालेकाले अक्सिजन ग्याँस सिलिण्डर संकलन गरी कम्पनीहरुलाई हस्तान्तरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्की, बिभिन्न अक्सिजन उत्पादन कम्पनी तथा स्थानीय जनप्रतिनिधिहरुसंगको सहकार्यमा जिल्ला स्थित बिभिन्न मेटल उद्योग, वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ लगायत अक्सिजन सिलिन्डर उपयोग हुने स्थानहरुबाट १८७ थान अक्सिजन ग्याँस सिलिण्डरहरु उद्योगलाई हस्तान्तरण गरिएको हो ।

संकलन गरिएका उक्त अक्सिजन ग्यास सिलिण्डरहरु पछी सम्बन्धित संस्था तथा कम्पनीहरुलाई नै फिर्ता गर्ने गरी हालकोरोना संक्रमितको उपचारको लागि प्रयोग गरिने छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालय समेतबाट संकलन गरी विभिन्न अस्पतालहरुमा पठाउने गरी पोखरा अक्सिजन प्रा.लि. र कालिगण्डकी अक्सिजन प्रा.लि.लाई हस्तान्तरण गरिएको हो ।

कतै अक्सिजनको अभावले कोरोना संक्रमित बिरामीहरु मर्न नपरोस भन्ने उद्धेश्यका साथ पूर्व तयारी अनुरुप कम प्रयोजनमा रहेका अक्सिजन सिलिन्डरहरु संकलन गरी अत्यावश्य भएका अस्पतालहरुसंग सहकार्य गर्दै प्रयोग गरिने जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत