वातावरण

मेघगर्जन, हावाहुरी र चट्याङ्गकाे सम्भावना, काठमाडाैं उपत्यकामा बेलुकीपख पानी पर्ने

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको जनाएकाे छ ।

पश्चिमी वायु र स्थानीय वायुको समेत प्रभाव रहेकाले सबैजसो पहाडी भूभागमा बादल लागेर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

केही ठाउँमा मेघगर्जन, हावाहुरी र चट्याङ्गकाे समेत सम्भावना रहेको छ । तराईमा पनि आज आंशिक बादल लाग्ने र केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडाैं उपत्यकामा आज पनि बेलुकीपख हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

स्थानीय र पश्चिमी वायुको प्रभाव आउँदो तीन दिनसम्म नै रहने भएकाले आइतवारसम्म नै देशका धेरैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी पर्ने क्रम चलिरहने महाशाखाले जनाएको छ ।

प्रि–मनसुनको समय भएकाले बिहानीपख घाम लागे पनि दिउँसोपछि बादल लागेर बेलुकीपख हावाहुरी, मेघगर्जन तथा चट्याङ्गसहित पानी पर्ने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

महाशाखाले सूचना निकालेर देशका केही ठाउँमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बादल लागेर लुम्बिनी वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँहरुमा हल्का वर्षा भइरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत